समाचार

स्थानीय र प्रहरीबीच झडप : दुई प्रहरी घाइते



कात्तिक २४, दैलेख । दैलेखको दुल्लू नगरपालिका वडा नं. ७ मा स्थानीयवासी र प्रहरीबीच झडप हुँदा दुई प्रहरी घाइते भएका छन् ।

ढुंगा लागेर इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक बजीरसिंह बिष्ट र प्रहरी सहायक निरीक्षक सुजन खड्कालाई टाउकोमा गम्भीर चोट लागेको छ । निरीक्षक बिष्टको टाउकोमा ४ वटा टाँका लगाइएको छ भने खड्काको बाहिरी चोट नदेखिएता पनि ढाड र घाँटीमा भित्री चोट लागेको अस्पतालले जनाएको छ ।

बाटो नै अवरुद्ध गरी जुवा खेलिरहेको खबर पाएको आधारमा घटनास्थलमा पुग्दा प्रहरी र स्थानीयवासीबीच सामान्य विवाद पछि छडप भएको हो । प्रहरी र स्थानीयबीच दोहोरो झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दुल्लू नगरपालिका नगरप्रमुख घनश्याम भण्डारीले घटनामा प्रहरी र स्थानीय समेत घाइते भएकोले छलफलबाट समस्या समाधान गर्ने बताउनुभयो ।

घटनाबारे बुझ्न प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पोखरेल र प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलको टोली बिहान त्यहाँ पुगेको छ ।