सम्पादकीय

वाडइ बडी खरिदको भ्रष्टाचार कांग्रेसले खोतल्ने, दोषीलाई नछाड्ने



वाइड बडी खरिद अनियमितता सम्बन्धमा कांग्रेसले चासो देखाएको छ । यस प्रकरणमा सरकारले यथार्थ कुरा सार्वजनिक गर्नुपर्नेमा उसले माग गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

वाइड बडी किनेर हो कि भाडामा ल्याइएको हो भन्ने विषयमा सरोकारवाला निकायबाट फरकफरक मत आएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

‘वाइड बडी प्रकरणको वास्तविकता रहस्यमय बन्नु गम्भीर छ’, पार्टीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाई फ्लाई एक्ससँग जहाज खरिद गरिएको हो कि नियोजित रूपले नयाँ दर्ता गरिएको सो कम्पनीले एयर बससँग खरिद गरेर नेपाल एयरलाइन्सलाई भाडामा उपलब्ध गराएको हो रु ’ सार्वजनिक खरिद ऐनको पालना भएको छ कि छैन भन्ने विषयमा घोटालाको आशंका रहेकाले यसमाथि छानबिन गर्न कांग्रेसले मागसमेत गरेको छ ।

‘वाइड बडी प्रकरणमा सरकारले यथार्थ छानबिन गर्नुपर्छ भन्ने कांग्रेसको माग हो’, पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा शर्माले भने, ‘यसअघि हामीले केन्द्रीय कार्यसमितिबाट छानबिनको माग गरेका थियौं । त्यसलाई पुनः दोहोर्‍याउँछौं ।’

यस प्रकरणबाट सरकार पूर्ण रूपमा भ्रष्टाचारमा लिप्त रहेको प्रस्ट भएको उनको भनाइ छ । सत्तारूढ दल नै सहभागी रहेका कारण यो विषयलाई गुपचुप पार्न खोजिएको उनले दाबी गरे । ‘त्यसैले यसको प्रस्ट छानबिन हुनैपर्छ’, उनले भने ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई पनि महिनौंसम्म कारबाही नगरेर सरकारले स्वेच्छाचारी कदम चालेको शर्माको आरोप छ । नयाँ सरकार गठन भएको ९ महिना सकिनै लाग्दा पनि केही काम नभएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ । सरकार लोकतान्त्रिक मूल्यमान्यताविपरीत अघि बढेको प्रवक्ता शर्माको भनाइ छ । ‘मन्त्रिपरिषद् बैठकका निर्णय सात दिनसम्म सार्वजनिक नगरेर सरकारले के सन्देश दिन खाजेको हो’, उनले प्रश्न गरे ।