समाचार

आगलागीका कारण चार जनाको मृत्यु



झापा, १० मंसिर । झापा जिल्लाको शिवसताक्षी नगरपालिका-७ लाल्झोडास्थित एक घरमा आगलागी हुँदा एक परिवारका चारको मृत्यु भएको छ ।

आइतबार राति करिब ९ बजेतिर घरमा अचानक सल्किएको आगोले उक्त दुर्घटना निम्तिएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ । परिवारका सबै सदस्य सुतिरहेको बेला आगलागी भएकाले जलेर सबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लक्ष्मण खनाल परिवार घरसँगै जलेर खरानी भएको हो । जलेर मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, ४ वर्षीया सुप्रिया खनाल र ३ महिनाका नाबालक टीकाराम खनाल रहेको प्रहरीले जनाएको छ ।

खाना खाएर सुतिसकेपछि सो घरमा आगलागी भएको र आगलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विष्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

आगलागीमा परी छिमेकी घरकी गीता ढुङ्गेल समेत सख्त घाइते भएको जनाइएको छ । घाइते गीतालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ । काठको घरमा परिवारका सदस्य सुतेको र भुइँतलामा थ्रेसर राख्ने गरिएको थियो ।