रोचक

जहाँ लाग्छ बिहेको हाटबजार



चीनको सांघाइ पिपुल्स स्क्वाएरस्थित पिपुल्स पार्कमा बिहे गर्नका लागि हाटबजार लाग्ने गर्दछ ।

सन् २००५ देखि यो हाटबजार लाग्दै आएको उक्त बजारमा बिहेका सामान होइन, बिहेको नाता अर्थात् जोडी उपलब्ध हुन्छ । हरेक शनिबार  बजार लाग्ने गर्दछ ।  स्थानीय मानिसहरुले मर्निङ वाकमा गर्ने कुराकानीकै क्रममा हाटबजार सुरु भएको बताइएको छ ।

पहिले पिपुल्स पार्कमा बिहान मर्निङ वाक गर्ने मानिसहरुको भीड हुन्थ्यो । मर्निङ वाक गर्न आएका अभिभावकहरु एक अर्कामा चिनजान गरी सँगै बसेर घरपरिवारको कुरा गर्दथे र आफ्ना बिहे गर्ने उमेर पुगेका छोराछोरीहरुको बारेमा पनि चर्चा गर्दथे । विस्तारै विस्तारै मानिसहरुले यो पार्कलाई बिहेवारीको कुरा गर्ने अनौपचारिक ठाउँको रुपमा प्रयोग गर्न थाले ।

यो बजारमा मानिसहरु सडक किनारामै एउटा कागजको पानामा चिनियाँ भाषामा विवाह योग्य केटाकेटीको बायोडाटा लिएर बसेका हुन्छन् । त्यसमा केटा तथा केटीको उमेर, आम्दानी, अध्ययन, जन्मदिन तथा जन्मकुण्डली आदिका बारेमा पनि लेखिएको हुन्छ । यहाँबाट विवाह योग्य केटाकेटीका बायोडाटाहरु आफ्नो छोराछोरीका लागि उपयुक्त बर बधु खोज्नका बायोडाटा लैजान्छन् र चित्त बुझेमा बिहेको कुरा अघि बढाइन्छ ।