समाचार

नादेम संस्थाको लक्ष्य ‘एक घर, एक प्राथमिक उपचारक’



ललितपुर २३ मङ्सिर । एक सयमध्ये नौ जनालाई हरेक दिन केही न केही प्राथमिक उपचार तथा एक हजार आकस्मिक उपचार आवश्यक पर्ने मध्ये पाँच जनालाई सिपिआर अति आवश्यक पर्छ ।

घाउ, चोटपटक, झाडापखाला लगायत साधारण उपचार विधिलाई प्राथमिक उपचार तथा मुटु र श्वासप्रश्वास प्रक्रिया चलाउन सिकाइने विधिलाई सिपिआर भनिन्छ । सिपिआर तालीम लिएकाले अस्पताल पुग्नुअघि अकालमा हुने ७० प्रतिशतसम्मको मृत्युलाई घटाएको एक अध्ययनले देखाएको छ ।

‘नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेन्टर (नादेम) ले शनिबार ललितपुरमा सार्वजानिक गरेको अध्ययनमा विशेषगरी विद्यालय तहका छात्रछात्रा तथा समुदायमा प्रदान गरिएका प्राथमिक उपचार तथा सिपिआर तालीमले अकालमा हुने मृत्युलाई कम गर्न सहयोग पु¥याएको देखाएको छ ।

नादेमले हाल काठमाडौँ, ललितपुर, भक्तपुर, सोलुखुम्बु, ओखलढुङ्गा, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर र गोरखा जिल्लामा ‘एक घर, एक प्राथमिक उपचारक’ तालीम सञ्चालन गर्दै आएको छ ।

विनाशकारी भूकम्पका समयमा नादेमले प्रदान गरेका तालीम प्राप्त जनशक्तिले गरेका मानवीय सेवाका आधारमा भएको सो अध्ययनले प्राथमिक उपचार र सिपिआर तालीमको महत्वलाई थप उजागर समेत गरेको छ ।

नादेमका कार्यकारी निर्देशक एवं त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन सस्थानका सहप्राध्यापक डा. रमेशकुमार महर्जनका अनुसार विपद्का अवस्था अर्थात आकस्मिक समयको पहिलो उपचार नै प्राथमिक उपचार हो । प्राथमिक उपचारका कारण अकालमा हुने मृत्युदरलाई ७० प्रतिशतसम्म घटाउन सकिने आफ्नो अध्ययनबाट निस्केको जानकारी दिनुभयो ।

आकस्मिक चिकित्सा विधाका प्राध्यापक समेत रहनुभएका सेन्टरका कार्यकारी निर्देशक डा महर्जन भन्नुहुन्छ, “प्राथमिक उपचार र सिपिआर तालीम हरेक नागरिकलाई लिनु आवश्यक छ ।”

सेन्टरले आफ्ना कार्यक्रम लागू भएका ती जिल्लामा प्राथमिक उपचारका साधारण र विशिष्ट दुवै खालका तालीम सञ्चालन गरिरहेको छ । हालसम्म पाँच हजार जनशक्तिले प्राथमिक उपचार र सिपिआरका तालीम लिइसकेका छन् । ती जनशक्तिले हाल साधारण चोटपटक, महिलाको समस्या, गर्भवती सेवा, नवजात शिशु सेवा लगायतका स्वास्थ्य सेवा प्रदान गरिराखेका छन् ।

यसैबीच, ती कार्यक्रमका र्यान्वयन भएका जिल्लाका पहिलो प्राथमिक उपचारक सम्मेलन आजदेखि यहाँ शुरुभयो । दुई दिने सम्मेलनमा सहभागीले आ–आफ्ना अनुभव र आगामी दिनमा आइ पर्ने आकस्मिक उपचार सेवालाई कसरी प्रभावकारी रुपमा सम्बोधन गर्ने भन्ने विचार विमर्श गर्नेछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव दिपेन्द्ररमण सिंह, प्रा.डा हुमबहादुर बरुवाल, वरिष्ठ पत्रकार बलराम प्यासी लगायतले सम्मेलनको सफलताको कामना गर्दै विभिन्न विपद्को उच्च जोखिम रहेको हाम्रो जस्तो समाजका प्राथमिक उपचारको जानकारी सबैमा हुनु आवश्यक रहेकोमा जोड दिनुभयो ।