भक्तपुर, २४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सूर्यविनायक चोकदेखि साँगासम्मको सर्भिस ट्र्याकको शिलान्यास गर्दै १५ दिन भित्रमा कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
भक्तपुरको जगातीमा आज उक्त शिलन्यास गर्दै सांसद बस्नेतले भक्तपुरमा विकासलाई गतिशिलता प्रदान गरेको बताउनुभयो । उहाँले आज शुरु गरिएको सर्भिस ट्र्याक सडकको मापदण्ड अनुसार भन्दा पनि राजमार्गको जाम तथा दुर्घटना न्युनिकरण अन्त्यको अर्को नयाँ कार्य प्रारम्भ भएको जनाउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सडकको मापदण्ड अनुसार फागुनदेखि मात्र काम अघि बढ्ने जानकारी गराउनुभयो । उहाँले सडकको मापदण्ड अनुसार निर्माण भएका कुनै पनि घर तथा टहरा हटाउन समेत स्थानीयवासीलाई आग्रह गर्नुभएको छ । उहाँले जनताको विविध समस्या समाधान गर्न जनप्रतिनिधि सदैव तयार रहेको समेत बताउनुभयो ।
उहाँले २०३५ भन्दा अघि निर्माण गरिएका घर तथा टहरा भने तत्काल नहटाउन आग्रह गर्दै सरकारले क्षतीपूर्तिको व्यवस्था गरेपछि हटाउन समेत आग्रह गर्नुभयो । उहाँले फागुनदेखि जापान सरकारले अरनिको राजमार्गलाई ८२ फिटको बनाउने कार्य प्रारम्भ गर्ने जानकारी गराउँदै उहाँले राजमार्गमा अन्य आवश्यक सरसफाई, वातावरण सुन्दरताका कार्य समेत गर्न जापान सरकार सहमत भएको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विकास निर्माणका क्रममा कुनै समस्या आए समाधान गर्न प्रशासन तयार रहेको तर निर्माण प्रकृयालाई अवरोध गरे प्रशासन जवाफि कारवाही गरी अघि बढ्ने चेतावनी समेत दिनुभयो ।
सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले लाखांै जनतालाई सास्ति बनिरहेको अरनिको राजमार्गमा हुने जामलाई अन्त्य गर्न स्थानीय सरकार आवश्यकता अनुसार जहिले पनि साथ र सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले राजमार्गको विस्तारमा कुनै समस्या आए स्थानीय सरकारले नै समाधान गर्ने र निर्माण प्रकृया रोक्नुपर्ने अवस्था नआउने समेत बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं. ३ का सदस्य रजनी जोन्छे, सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापा, वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र केसी लगायतले आ–आफ्नो धारणा प्रस्तुत गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्