समाचार

बालक अपहरण गर्ने ३ जना पक्राउ



झापा, २६ मंसिर । झापाको गौरीगञ्जबाट सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले बताएका छन।

भारत बिहारको सुपौल जिल्ला किसनपुराका मोहम्मद सदामका छोरा सात वर्षीय मैफुज आलमलाई अपहरण गरी दमकको एक होटलमा राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

अपहरणकारीले अपहरणपछि बालकको परिवारसँग रु १५ लाख फिरौती मागेका थिए । नेपाल प्रहरीको टोलीले आलमलाई दमकको एउटा होटलबाट उद्धार गरी परिवारको जिम्मा लगाएको हो । पक्राउ परेकालाई हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।