कांग्रेसमा शीर्ष नेताहरूबीच बढेको किचलोले महासमिति भेला प्रभावित भएको छ। चुनावपछि थलिएको पार्टीलाई पुनर्जीवन दिन डाकिएको भेलाको मुख्य एजेन्डा विधान मस्यौदा यसकै घानमा परेको छ ।
सुरु हुने अघिल्लो शुक्रबार रातिसम्म विधानमा मतऐक्य हुन सकेन। शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकले विधान मस्यौदालाई अन्तिम रूप दिन नसकेको हो। भेलामा पेश गरिने अन्य चार प्रतिवेदन भने परिमार्जनसहित केन्द्रीय समितिले पारित गरेको छ। मुख्य मानिएको विधानमै किचलो बाँकी छ।
पछिल्लो समयमा कांग्रेसभित्र गुटगत गतिविधि तीव्र छ। शशांक कोइराला, सुजाता कोइरालालगायतले घरमै पटकपटक बैठक बोलाए। सामुहिक नेतृत्वको पक्षमा आवाज उठिरहेकै बेला शनिबारदेखि काठमाडौंमा महासमिति भेला सुरु हुँदैछ। भेलाका लागि देशभरिबाट १६ सय कांग्रेस नेता–कार्यकता राजधानी आइपुगेका छन्। शनिबार ११ बजे सिंहदरबारअगाडिको पार्टी प्यालेसमा भेला उद्घाटन हुनेछ।
शुक्रबार पार्टी कार्यालयमा जम्मा भएको कार्यकर्ताको भीडको चासो समयमा महासमिति भेला हुन्छ कि हुन्न भन्नेमा थियो। सामुहिक नेतृत्वमा जाने वा सभापतिको एकल कार्यकारी नेतृत्व बलियो बनाउने भन्ने विषय पनि कांग्रेसमा टड्कारो बनेको छ।
हिन्दु धर्मको विषय पनि कांग्रेसभित्र बहसको विषय बनेको छ। महामन्त्री शशांक कोइराला नै हिन्दु धर्मको पक्षमा वकालत गरिरहेका छन्। अर्को पक्ष भने इतिहास भइसकेकाले धर्म र राजतन्त्रलाई कांग्रेसले उठाउन नहुने नहुने बताएका छन्।
महासमिति बैठकमा पेस हुने एजेन्डा केन्द्रीय समितिले पारित गर्न सकेको छैन। शुक्रबार रातिको केन्द्रीय समिति बैठकले पनि विधान मस्यौदा नटुंग्याएको हो। बैठकले परिमार्जनसहित राजनीतिक, संगठन र कोष तथा लेखासम्बन्धी प्रस्ताव भने परिमार्जनसहित पारित गरेको छ।
शनिबार बिहानसम्म सहमति नभए बहुमतले पारित गरेर एजेन्डालाई महासमितिमा लैजाने सम्भावना रहेको एक केन्द्रीय नेताले बताए। महासमितिले नेतृत्व टकरावको अन्त्य गर्न र भावी कार्यदिशा तय गर्न विधिसम्मत बहस गरी निचोडमा पुग्न सघाउने धेरैले अपेक्षा राखेका छन्।
‘हामी महासमितिमा सहभागी हुन आइसक्यौं। प्रक्रिया अघि बढिसक्यो तर यहाँ अझै नेतृत्व तहमा माथापच्ची गर्दैछन्,’ सहभागी हुन आएका अधिकांश नेता–कार्यकर्ता निराश हुँदै पार्टी कार्यालयमा भन्दै थिए, ‘नेतृत्वले के खोजेको हो ? सबै आफ्नो स्वार्थमा छन्। कांग्रेस र मुलुकको चिन्ता नेतृत्वमा छैन।’
युवा नेता गगन थापाले कांग्रेसलाई बलियो बनाउन सामुहिक नेतृत्वमा जानुको विकल्प नभएको बताए। उनले आफूलाई वा आफ्नालाई सुरक्षित बनाउनेतर्फ नभएर प्रतिद्वन्द्वीसँग जुधेर जानेमा केन्द्रित हुनुपर्ने धारणा राखे।
माथिल्लो तहका नेताहरूमा देखिएको विवादले तल्लो तहका नेता–कार्यकर्तामा निराशा छाएको छ। छ वर्षपछि हुन लागेको महासमिति बैठकले खुशी ल्याए पनि नेतृत्वबीच विवाद यथावत हुँदा कति कार्यकर्ता चिन्तित देखिन्थे । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।










प्रतिक्रिया दिनुहोस्