भक्तपुर, २ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले काम जिम्मा लिएर समयमा नै कार्य सम्पन्न नगर्ने ठेकेदारलाई राज्यले बल प्रयोग गर्ने बताउनुभएको छ ।
मध्यपुर थिमी नगरपालिकादेखि सूर्यविनायकको दधिकोट जाने हनुमन्ते नदीको पुल शिलान्यास गर्दै सांसद बस्नेतले विकास निर्माणका काममा बाधा गर्ने जोकोहीलाई जनताले तिस्कार गर्र्नेे बताउनुभयो । उहाँले कुनै पनि विकास निर्माणका कार्यहरुमा संम्योजन हुने बताउँदै ठेकेदारले निर्धारित समयमा निर्माण कार्य सम्पन्न नगरे कानुन अनुसार अध्यारो कोठामा जानुपर्ने समेत चेतावनी दिनुभयो ।
करिव ६ करोड लागतमा ११ मिटर चौडाई तथा ३५ मिटर लम्वाई रहेको उक्त पुलको शिलान्यास गर्दै सांसद बस्नेतले कोटेश्वर पछिको दोस्रो जामको रुपमा ठिमी चोक भएको र उक्त पुल तथा हनुमन्ते नदीको करिडोर निर्माण पश्चात थिमीमा जामको समस्या समाधान हुने बताउनुभयो ।
भक्तपुरमा रोकिएका सवै कामहरु शुरु भएको भन्दै हनुमन्ते करिडोर निर्माणको कार्य तिव्र गतिमा अघि बढिरहेको उहाँले बताउनुभयो । उहाँले यो वर्ष करिडोर तीन किमी निर्माण कार्य सम्पन्न हुने समेत जानकारी गराउनुभयो ।
अरनिको राजमार्गमा हुने जामलाई अन्त्य गर्न हनुमन्ते नदीको करिडोर निर्माण कार्य तिव्र गतिमा अघि बढिरहेको साथै सडक डिभिजन कार्यालयको मातहतमा अन्य ९ वटा सडक निर्माणका कार्यहरुको एक दुई महिनामा नै टेण्डरको प्रकृयामा जाने जानकारी गराउनुभयो । उहाँले भक्तपुरमा धेरै पुलहरु निर्माण गर्नुपर्ने आवश्यकता रहेको भन्दै सडक जामलाई व्यवस्थापन गर्न बस्ती बस्तीमा लिक रोडहरु निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
जनताले करिडोर निर्माणलाई चाडो सक्नुपर्ने दवाप दिइरहेको जानकारी गराउँदै सांसद बस्नेतले आवश्यकता अनुसार पुललाई थप गरी अघि बढ्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो । त्यस्तै उहाँले २ करोड ४० लाखको लगानीमा साँगामा उपत्यकाकै सवैभन्दा लामो झोलुङ्गे पुल निर्माणको लागि टेण्डर भएको समेत जानकारी गराउनुभयो ।
जग्गा एकिकरण आयोजना पनि अघि बढ्ने बताउँदै उहाँले दुई वर्षभित्रमा सक्ने महत्वकांक्षि योजना अघि बढाएको जानकारी गराउनुभयो । भक्तपुरलाई हरियाली बनाउन मन्त्रालयको सहयोग गर्ने बताउँदै निजी क्षेत्रसँग सहकार्य गरी सफाई, आकासे पुल निर्माण गर्दै भक्तपुरका सवै सडकलाई झिलिमिलि सडक बनाउने उद्घोष समेत गर्नुभयो ।
राज्यको जिरो लगानीमा सुन्दर, स्वच्छ, सफा, समृद्ध भक्तपुर बनाउने बताउँदै सांसद बस्नेतले भक्तपुरको सफाई अभियान केन्द्रीकृत नभई विकेन्द्रीकृत हुने बताउनुभयो । उहाँले आगामी ७ गते थिमी चोकदेखि राधेराधेसम्म सफाई गरी उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको आतिथ्यमा हुने भएकाले सम्पूर्ण भक्तपुरवासीलाई उपस्थितीको लागि आग्रह समेत गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्