जनकपुर अञ्चल अस्पतालको छेउमै छ बाह्रबिघा मैदान। त्यहीँ दर्जनभन्दा बढी एम्बुलेन्स बिरामी कुरेर बसिरहेका छन्। ज१च १११६ नम्बरको एम्बुलेन्स त्यहीँ भेटियो। विदेह नगरपालिका दुहबीको मिथिला स्वास्थ्य सहकारी संस्थाद्वारा सञ्चालित रहेछ यो ।
दुहबीको एम्बुलेन्स जनकपुरमा कसरी चल्यो ? हामीले चालक मणिशंकर साहसँग सोध्यौँ। ‘संस्थाबाटै मैले सम्झौतामा लिएको हुँ,’ उनले भने, ‘एकपटक दुर्घटना भएपछि संस्थाले चलाउन सकेन। अनि सञ्चालकहरू सञ्जीव झा र राजीव झाले मलाई ठेक्कामा दिएका हुन्।’ गाउँको बाटो राम्रो नभएकोले आफूले जनकपुरमै चलाउँदै आएको उनले बताए। संस्थाका संरक्षक राजीव झाले त्यो एम्बुलेन्स कामै नलाग्ने भएपछि संस्थामार्फत मणिशंकरलाई चलाउन दिएको दाबी गरे।
जनकपुरको केयर मेडिकलको ज१च ३३४ र ज१च ३७३ नम्बरको एम्बुलेन्स पनि मणिशंकरले नै सञ्चालन गर्छन्। यी दुवै एम्बुलेन्स केयर मेडिकलले बेचिसकेको मणिशंकरले बताए। ‘पहिले नागेश्वर साहले लिएको थियो। उसले वैद्यनामथ साहलाई बेच्यो। वैद्यनाथबाट मैले लिएर चलाउँदै छु,’ उनले भने।
यदुकुवा, धनुषाधाम, औरही, महेन्द्रनगरजस्ता गाउँमा दर्ता भएका एम्बुलेन्स जनकपुरमा चलिरहेका छन्। यो जिल्लाका मात्रै होइन, मेची, बागमती, सगरमाथाका एम्बुलेन्स पनि यहीँ छन्। नारायणी अञ्चलको ज्योति नेपाल नामको संस्थाबाट सञ्चालित ना२च ८९३१, सगरमाथाको कमलामाई पोलिक्लिनिकबाट सञ्चालित स१च ६५७, मेचिको रामदयाल संस्थाको मे१च २०८० र मेचीकै गोठ गाउँको देव पोलिक्लिनिकबाट सञ्चालित मे१च ३५० नम्बरको एम्बुलेन्स यहाँ छ। ललितपुर उपमहानगरपालिका जावलाखेलको बा२च ८७६६, नारायणी अञ्चलको समाज विकास संस्थान नेपालको ना२च ६७२, पहरी समाज चन्द्रनिगाहपुरको ना२च ८८५५ नम्बरको एम्बुलेन्स पनि जनकपुरमै सञ्चालित छन्।
यीमध्ये अधिकांश एम्बुलेन्स संस्थाले बेचिसकेको वा ठेक्कामा दिएको एम्बुलेन्स चालक संघ धनुषाका अध्यक्ष हनुमान साह बताउँछन्। जनकपुरमा कतिपय एम्बुलेन्स निजी सवारी साधनझैँ मोलमोलाई गर्ने र यात्रुसमेत बोक्ने गर्छन्।
एम्बुलेन्स किन्दा सरकारले राजश्व छुट दिन्छ। किनभने एम्बुलेन्स व्यापार गर्न होइन, सेवा दिन ल्याइन्छ। यसलाई बेच्न र ठेक्कामा दिन पाइँदैन। तर, धनुषा जिल्लामा राजश्व छुटमा वा दातृ निकायको सहयोगमा एम्बुलेन्स लिने र त्यसलाई ठेक्कामा चलाउने लहर चलेको छ।
नियमतः जुन स्थानका लागि भनेर एम्बुलेन्स किनिन्छ वा सहयोगस्वरुप लिइन्छ, त्यहाँ मात्रै चलाउन र बिरामीको ओसारपसार गर्न पाइन्छ। धनुषामा सञ्चालित अधिकांश एम्बुलेन्स दुर्गम स्थानको नाममा खरिद गरिएका र सहयोगस्वरुप लिइएका छन्। तर ती भनिएको ठाउँमा चल्दैनन्। संस्थाका पदाधिकारीले ठेक्कामा व्यापारीलाई दिन्छन्। व्यापारीले मनोमानी चलाउँछन र नाफा कमाउँछन्।
जनकपुर एम्बुलेन्स चालक संघको तथ्यांकअनुसार धनुषाभरमा ६३ वटा एम्बुलेन्स दर्ता छन्। यीमध्ये ११ वटा एम्बुलेन्स ठेक्कामा चलाइएका छन्। ६ वटा त बेचिसकिएको स्रोतले बतायो।
नेपाल रेडक्रस सोसाइटीको नाममा ८ वटा दर्ता भएपनि चार वटा मात्रै संचालनमा छन्। जनकपुरका चर्चित युवा क्लबहरू रामानन्द युवा क्लब, महावीर युवा क्लब, गणेश युवा क्लब, नेपाल शिक्षक संघले एम्बुलेन्स चलाइरहेका छन्। २२ वटा चाहिँ नेपाल–भारत सहयोगका रुपमा प्राप्त छन्। अन्य एम्बुलेन्स विभिन्न दातृ निकाय तथा मा राजश्व छुट गरी निजी क्षेत्रले खरिद गरेका हुन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।










प्रतिक्रिया दिनुहोस्