संसदीय सुनुवाइ विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि आइतबार सांसदहरूले प्रश्नको वर्षा गरे। न्यायपालिकाभित्र भएका विकृति, बेथिति, भ्रष्टाचार, बिचौलिया र माफियाको चलखेलमा उनीहरूका प्रश्न केन्द्रित थिए। सुनवाइमा १० सांसदले प्रश्न गरे ।
सुनुवाइ समिति सदस्य रहेका सांसद शिवकुमार मण्डलले तत्कालीन प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहसँग ‘ब्ल्याकमेल’ गरेर पुनरावेदनको न्यायाधीश भएको विषयमा प्रस्ट जवाफ मागे। उनले प्रधानन्यायाधीशमा सिफारिस सिंहको उमेरसम्बन्धी विवादमा रिट दायर गरेर पछि फिर्ता लिनुको कारण पनि सोधे। ‘सिंह र तपाईंबीचको सहमतिपछि उहाँ प्रधानन्यायाधीश हुनुभयो र तपाईं न्यायाधीश नियुक्त भएको भन्ने कुरा आएको छ। यसमा कति सत्यता छ ?’, मण्डलले सोधे।
पुनरावेदन अदालत विराटनगर (हाल उच्च)मा न्यायाधीश रहँदा कानुनले जुवातासलाई अपराधका रूपमा स्वीकार गरे पनि तासको म्यारिज खेललाई ‘बौद्धिक खेल’को रूपमा व्याख्या गरेको भन्दै राणको धारणासमेत माग गरे। प्रधानन्यायाधीशले तोकेको इजलास बहिष्कार गरेको विषयमा पनि मण्डलले जवाफ मागे।
सांसद अमृता थापाले तारिखमा पनि कर्मचारीलाई घुस खुवाउनुपर्ने परिपाटीबाट न्यायका याचकलाई कसरी मुक्ति दिनुहुन्छ भन्दै योजना मागिन्। अर्की सांसद पूर्णकुमारी सुवेदीले सुनुवाइ समितिमा परेका उजुरी र उजुरीकर्ताको भाव हेर्दा गरिब र तल्लो वर्गको न्यायप्रति विश्वास नदेखिएको बताइन्। ‘न्याय खोज्न कहाँ जाने भन्ने उजुरीकर्ताको भाव देखिन्छ’, उनले प्रश्न गरिन्, ‘यस्तो किन भयो ? कुरो के हो ?’,
सांसद सुमनराज प्याकुरेलले पूर्वराजा वीरेन्द्र शाहको नाममा रहेको सम्पत्ति राज्यका तर्फबाट ‘ट्रस्ट’मा व्यवस्थित गरेको झन्डै १६ रोपनी जग्गा प्रेरणा शाहको नाममा कसरी गयो भन्दै प्रश्न गरे। ‘तपाईं संलग्न बेन्चबाटै त्यो सम्पत्ति कसरी प्रेरणाको भयो ?’, उनले सोधे। सोही जग्गा पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाको नाममा दाइजो हुने गरी कसरी फैसला हुन पुग्यो भन्नेमा सांसद मण्डलले पनि जिज्ञासा राखेका थिए।
प्याकुरेलले विशेष अदालतमा रहँदा पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा सफाइ दिँदा कानुनको तोडमोड गरिएको भन्दै तत्कालीन न्यायाधीश सुशीला कार्की (प्रधानन्यायाधीशबाट अवकाश)समेतको बेन्चबाट छानबिन र कारबाहीका लागि न्यायपरिषद्मा लेखी पठाइएको विषयमा प्रस्ट्याउन पनि माग गरे। ‘तपाईंमाथि कारबाहीको सिफारिस भएको थियो ? तपाईं प्रधानन्यायाधीश भएपछि त्यो केसमा के हुन्छ ?’, प्याकुरेलले सोधे। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।










प्रतिक्रिया दिनुहोस्