काठमाडौं, २० फागुन । अवैध काठ ओसारपसार गर्न प्रयोग गरिएको ट्रयाक्टर काठसहित जिल्ला वन कार्यालयमा बुझाउन खटिएका प्रहरीले नै सो ट्रयाकटरको टायर चोरी बिक्री गरेको खुलासा भएको छ ।
इलाका प्रहरी कार्यालय, तुलसीपुरले सोमबार राती अवैध काठसहित रा १ त ६३० को ट्रयाक्टरलाई तुलसीपुर–१४ राइखलियानबाट नियन्त्रणमा लिएको थियो ।
इप्रका तुलसीपुरका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार काठसहितको सो ट्रयाक्टर जिल्ला वन कार्यालय बुझाउन प्रहरीकै चालक सिपाही धनबीर चौधरी र अर्का जवान प्रकाश बिष्टलाई खटाइएको थियो ।
घोराहीस्थित जिल्ला वन कार्यालय काठ र ट्रयाक्टर बुझाउन गएका प्रहरी जवान चौधरी र बिष्टले घोराहीकै एक ट्रयाक्टर सोरुममा ट्रयाक्टरका ६ वटै टायर बेची पुराना टायर राखेर जिल्ला वनमा बुझाएको प्रहरीको भनाइ छ । प्रहरी स्रोतका अनुसार प्रहरी जवानद्वयले कामचलाउ टायर राखी ट्रेक्टर जिल्ला वन कार्यालयमा बुझाएका थिए ।
प्रहरीले नै टायर चोरेर बेचेको सूचना इप्रका तुलसीपुरले पाएपछि इप्रकाले प्रज चौधरी र विष्टलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, दाङ पठाएको प्रनाउ तिवारीले बताए ।
दाङ प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले भने, ‘अनुसन्धान गर्दा प्रहरी जवानद्वयले टायर बेचेको खुलेपछि उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार दुवै प्रहरी जवानलाई ६ महिनाका लागि प्रहरी सेवाबाट निलम्बन समेत गरिएको छ । ट्रयाक्टरका ६ वटा टायरको मूल्य करिब एक लाख ५० हजार रुपैयाँ पर्छ । राजधानीमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्