राजनीति

भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने : नीतिगत सहमती सम्पन्न



काठमाडौँ, १८ पौष । खेलकुद क्षेत्रको विकास र विस्तारलाई उच्च प्राथमिकता दिदैं भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने निश्चित भएको छ ।

आज सिंहदरवार स्थित युवा तथा खेलकुद मन्त्रालयमा भएको छलफल पछि भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको ८ र ९ नं. वडाको तौडल र महत गाउँमा रङ्गशाला निर्माण गर्ने जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमती भएको छ ।

नेपाल सरकारले आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने उद्देश्यका साथ रङ्गशाला निर्माण गरिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिने उक्त रङ्गशालाको लागि १ हजारदेखि आवश्यकता अनुसार १५ सय रोपनीसम्मको जग्गा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको अनुरोधमा सूर्यविनायक नगरपालिकाले व्यवस्था गर्ने भएको छ ।

उक्त स्थानमा रङ्गशालाको लागि आवश्यक जग्गाको व्यवस्था गर्दा जग्गा एकिकरण आयोजना (ल्याण्ड पुलिङ)को माध्यमबाट गरिने भएको छ । कुनै पनि नागरिकको वासस्थानलाई सुरक्षित गर्दै जग्गा एकिकरणको माध्यबाट उक्त रङ्गशाला निर्माण गर्न जनप्रतिनिधिहरुले मध्यमार्गिय बाटो अपनाउने बताइएको छ ।

जग्गा एकिकरणको लागि सूर्यविनायक नगरपालिकाको वडा नं. ८, ९, १० तथा आवश्यकता अनुसार चाँगुनारायण नगरपालिकाको ८ र ९ नं. वडालाई प्रयोगमा ल्याउने बताइएको छ । त्यसको लागि तत्काल आवश्यक प्रकृया पुरा जग्गा पहिचान गर्ने र निर्माण प्रकृयालाई सार्वजनिक सूचना प्रकाशित गर्दै अघि बढ्ने सहमति भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको आवश्यक सवै कानुनी तथा प्राविधिक कार्यहरु सम्पन्न गरी अबको १५ दिन भित्रमा डिपिआरको प्रकृयामा जाने समेत सहमति भएको छ ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सरकारको योजना अनुसार आगामी तिन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउनेपर्ने बताउनुभयो । उहाँले केही व्यक्तिले उक्त स्थानमा रङ्गशाला बनाउनु नहुने भन्दै जानकारी गराएको जानकारी गराउँदै देशको आवश्यकता, विकास र समृद्धिलाई कसैले रोक्नु नहुने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले रङ्गशाला तथा कर्वोड हलको डिपिआर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । विकासमा राजनीति गर्नु नहुने भन्दै सांसद बस्नेतले स्थानीयवासीको समस्यालाई जनप्रतिनिधिले समष्टिगत रुपमा समाधान गर्दै जाने भएकाले सरकारलाई उक्त रङ्गशाला निर्माण गर्दा कुनै समस्या आउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले नेपाल मजदुर किसान पार्टीले अनावश्यक रुपमा भक्तपुरमा विकास विरोधि कार्यहरु गर्ने गरेको जानकारी गराउँदै विकास विरोधी नगन्य मात्रामा रहेको संख्यालाई सरकारले आवश्यकता अनुसार बल प्रयोग समेत गर्नुपर्ने बताउनुभयो । त्यस्तै उहाँले भक्तपुर क्षेत्र नं. १ का सांसद प्रेम सुवालले क्षेत्र नं. २ मा आई विकासको विरोध गर्नुको कुनै औचित्य नभएको समेत बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेब थापाले भक्तपुरमा भएका इटाभट्टाका कारण वातावरण प्रदुषणको मात्र झा वढ्दै गएको बताउनुभयो । उहाँले भक्तपुरलाई विकसित बनाउन आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न नगरपालिका तयार रहेको समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।