Banner News

प्रधानमन्त्री र मन्त्रीहरुबीच नै आचारसंहिता उल्लंघनमा चर्को प्रतिस्पर्धा



काठमाण्डौ,२० फागुन ।प्रधानमन्त्री पुष्पकमल दाहालले एक पटक होइन, पटक–पटक स्थानीय तहको निर्वाचन निष्पक्षीय र धाधलीरहित हुने भाषण गर्दै आएका छन् । तर, उनले नै सबै भन्दा पहिले निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहितालाई तोड्ने काम गरेका छन् ।

निर्वाचन आचारसंहिता उल्लघन गर्ने काममा उनीमात्रै होइनन, उनका मन्त्रीपरिषदका सदस्यहरु पनि थपिएका छन् । जब प्रधानमन्त्री र मन्त्रीहरुका बीचमा नै आचारसंहिता उल्लंघन गर्नेमा प्रतिस्पर्धा शूरु हुन्छ भने, त्यहाँ निर्वाचनको निष्पक्षीयता माथि प्रश्न उठ्छ कि उठ्दैन ?
आयोगले सरकारका मन्त्रीहरुलाई आचारसंहिता उल्लघन नगर्न भनेसंगै सरकारले निर्वाचन आचारसंहिताको उल्लघंनको कार्यलाई तीव्र पारेको छ । निर्वाचनलाई प्रभावित पार्ने हिसाबले सरकारले आचारसंहिता उल्घन गरेसंगै निर्वाचन स्वच्छ र धाधलीरहित हुने कुरामा प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयले निर्वाचनको आचारसंहितालाई उल्लघंन गर्दे कर्मचारी सरुवा बढुवाको काममा हात हालेका छन् । प्रधानमन्त्रीको यो कार्यशैलीले निर्वाचनको निष्पक्षीयतामाथि नै प्रश्न चिन्ह उठ्न थालेको छ ।

कुनै पनि नियुक्ति, सरुवा, बढुवामा आयोगको सहमति लिएर काम गर्न सकिने भए पनि प्रधानमन्त्रीले भने आयोगसँग सहमति नै नलिई बिहीबार स्वास्थ्य मन्त्रालयअन्तर्गका विभिन्न प्रतिष्ठानहरुमा उपकुलपति नियुक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले आयोगसँग सहमति नलिई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा भरत यादव, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा।राजकुमार रौनियार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाबुद्धिबहादुर थापा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा राजेन्द्र वाग्लेलाई नियुक्त गरेका हुन् । ती सबै प्रतिष्ठानको कुलपतिका हैसियतले प्रधानमन्त्री दाहालले उपकुलपतिहरु नियुक्त गरेको जनाइएको छ ।

सहकुलपति तथा स्वास्थ्य मन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित उपकुलपति छनोट समितिको सिफारिसका आधारमा प्रधानमन्त्री दाहालले ती प्रतिष्ठानहरुमा उपकुलपति नियुक्त गरेका हुन् । उपकुलपतिहरुका नियुक्तिका लागि सरकारले आयोगसँग सहमति नमागेको बुझिएको छ ।
प्रधानमन्त्री दाहालकै कार्यशैली पछ्याउँदै खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले पनि निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । आयोगले मन्त्रीहरुलाई डाकेर कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन नपाइने र सहभागी भए आचारसंहिता उल्लंघन भएको ठानिने निर्देशन दिएको भोली पल्टै मन्त्री सिंहले भने बर्दिया पुगेर विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाएका छन् ।
र मन्त्री सिंहले आचारसंहिताको बेवास्ता गर्दै सानोश्री तारा तालस्थित एउटा खानेपानी तथा उपभोक्ता समितिको साधारणसभाको उद्घाटन गरेका थिए ।