Banner News

मेरो कार्यकालको जिम्मा लिन्छु, भागेर जान्न, सत्य तथ्य बाहिर ल्यारै छाड्छु : मन्त्री अधिकारी



काठमाडौँ, २३ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज खरिदमा प्रकृयामा आफ्नो कार्यकालमा भएको कामको जिम्मा आफै लिने भन्दै बास्ताविकताबाट भाग्ने नभई सत्य तथ्य कुरा बाहिर ल्याएरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्री अधिकारीले सोमबार पत्रकार सम्मेलन गरी अनियमितता र भ्रष्टचारलाई अन्त्य गरेरै छोड्ने बताउँदै छानविन समितिले कुनै राजनीतिक आग्रह पूर्वाग्रहमा काम गर्ने भन्दा पनि वास्तविकतामा अनुसन्धान हुन जरुरी रहेको बताउनुभयो । उहाँले आफ्नो गल्तीलाई ढाक छोप गर्ने तथा निर्दोष व्यक्तिलाई दोषी प्रमाणीत गर्ने प्रयास गर्नु सरकारलाई असफल बनाउने बदनियतपूर्ण खेल भएको समेत बताउनुभयो ।

२०७४ मंसिर २७ मा सर्वोच्च अदालतले खरिद प्रकृया ठिक छ भनेको र मन्त्री आएपछि भएकाका आफू आउँदा भुक्तानी स्वीकृती भैसकेको सर्वोच्चले पनि ठीक छ भनिसकेकोले सर्वोच्चको आदेश विपरित भुक्तानी रोक्न सक्ने अवस्था नभएको उहाँले प्रष्ट पार्नुभयो । आफूले भुक्तानी नदिएको भए पहिला बैना स्वरुप पठाएको ९ अर्ब डुब्ने पनि उहाँको भनाइ छ ।

दोषी उम्कन नपाउन, निर्दोषलाई बदनियतपूर्वक नहेरियोस संसदीय समितिका नाममा विकास रोक्ने काम नहोस भन्ने पनि उहाँले कामना गर्नुभयो । अनुमान र पूर्वाग्रहका आधारमा आफूलाई मुछिएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमलाई डुबाउने खेल भइरहेको पनि दाबी गर्नुभयो । ‘विमान आएपछि अरुको ब्यापार घटेको छ, हाम्रो बढेको छ’ उहाँले, ‘हामी अलि महत्वकांक्षी भएर अगाडि बढेनौं भने नियम धरासायी हुन्छ ।’