काठमाडौँ, २४ पौष । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपमा पक्राउ परेका निलम्वित सांसद रेशम चौधरीलाई थुनामुक्त नगर्न आदेश गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सोमवार चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । ‘चौधरीले आरोपित कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यमान रहेको देखिँदा निजलाई पछि ठहरे बमोजिम हुनेगरी मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने गरी उच्च अदालत दिपायल र जिल्ला अदालत कैलालीको आदेश मनासिव देखिन्छ’ आदेशमा भनिएको छ । कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ ।
चौधरीलाई २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडपमा एक बालकसहित आठ जनाको हत्या भएको घटनाको मुख्य आरोपी मानिएको छ ।










प्रतिक्रिया दिनुहोस्