चितवन, २४ पौष । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै हातेमालो गर्दै अघि बढ्नुको कुनै विकल्प नभएको बताउनुभएको छ ।
आज पुनःनिर्माण जिल्ला समन्वय समिति चितवनको बैठकमा उहाँले भन्नुभयो, “राष्ट्रिय मुद्दामा मिलेर काम गर्ने बारेमा प्रधानमन्त्रीजीको अध्यक्षतामा शेरबहादुरजी, म लगायत वरिष्ठ नेताको महत्वपूर्ण बैठक बसेर राष्ट्रिय मुद्दामा समझदारीका साथ जाने कुरा भएको छ ।”
सोमबार मात्रै पनि सत्तापक्ष र विपक्षीका नेताको गम्भीर बैठक बसेर सहमति गरेको बताउँनुभयो । उहाँले राजनैतिक रुपमा केहि मतभिन्नता भए पछि कुनै अप्ठ्यारो स्थिती नभएको जानकारी गराउनुभयो ।
अध्यक्ष दाहालले भूकम्प प्रभावितलाई ऐलेनी र वनको जग्गामा पुनःनिर्माणमा परेको समस्या समाधान गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्ने बताउनुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहसँग समन्वय गरी अघि बढ्न पुनःनिर्माणका अधिकार स्थानीय तहमा प्रत्यायोजन गर्न लागिएको बताउनुभयो । पुनःनिर्माणको काम स्थानीय तहमार्फत हुँदा दिगो हुने उहाँले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्