काठमाडौँ, २६ पौष । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकको विकास निर्माणमा जनताको मिहेनत आवश्यक रहेको बताएका छन ।
आज गण्डकी प्रदेशको पोखरामा श्रम तथा रोजगार कार्यालयको शुभारम्भ गर्दै मन्त्री विष्टले आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका साथै शिक्षण, आवास र रोजगारलाई संविधानको मौलिक हकमा राखिएकाले यस विषयमा सरकार सजग रहेको र मुलुकको विकास निर्माणमा जनताको मिहेनत आवश्यक रहेको बताएका हुन ।
नेपालको जनशक्तिलाई सदुपयोग गर्न सरकार दत्तचित रहेको भन्दै उनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत लाखौं युवालाई रोजगार दिने लक्ष्यका साथ कार्यक्रम ल्याउन लागिएको छ, पाँच वर्षभित्रै वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताको अन्त्य हुन्छ ।’
कृषिजन्य उद्योगको विकासका लागि मात्रै लाखौं जनशक्ति चाहिएकाले विभिन्न क्षेत्रमा रोजगार सिर्जना गर्न सरकार प्रतिबद्ध भएर कार्य गरिरहेको समेत बताएका छन ।










प्रतिक्रिया दिनुहोस्