समाचार

रूपन्देहीमा प्रहरीसँग दोहोरो झडप : एकको मृत्यु, एक घाइते



रुपन्देही, २९ पौष । प्रहरीसँग दोहोरो झडपमा परि रूपन्देहीमा एक जनाको मृत्यु भएको छ।

शनिबार राति गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीसँग राति १२ बजे सिद्धार्थनगर नगरपालिका – १० शंकरपुरमा दोहोरो गोली हानाहान थियो ।

गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली हानेको थियो । गोली लागेर एक जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरी जवान कृष्ण श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ ।

गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँचको लागि रोक्दा मोटरसाइकलमा आएका दुई जनाले एक्कासी गोली चलाएको र प्रहरीले पनि प्रतिरक्षाको लागि गोली चलाउँदा एक जनाको ज्यान गएको बताइएको छ ।

भारतीय नम्बर प्लेट यु पी ५३ एच २०२८ को मोटरसाइकलमा आएका उनीहरूलाई चेकजाँचको लागि रोकेपछि मोटरसाइकल पछाडि बसेको व्यक्ति भागेको र चालकले नै प्रहरीमाथि गोली हानेको प्रहरीले जनाएको छ ।

अन्दाजी ३०–३५ वर्षका मृतकको शव भीम अस्पताल भैरहवामा राखिएको छ। उनको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।