काठमाडौँ, ४ माघ । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर-४ जन्ती चढेको बस गुड्नेबित्तिकै बस दुर्घटनामा पर्दा ३५ जना घाइते भएका छन् भने चार जनालाई उपचारको लागि हेलिकप्टरको प्रयोग गरी काठमाडौँ ल्याइएको छ ।
आज बिहान मालुका दीपक मिजारको विवाहको जन्ती लिएर सिन्धुली जान लागि तयार बा २ ख ३७६० नम्बरको बस स्टार्ट गर्नासाथ दुर्घटना भएको थियो ।
तामाकोशी गाउँपालिका वडा नम्बर-४ का कुमोदराज योगी, उद्धव पोखरेल, टोप बहादुर मिजार र रन्जीत मिजारलाई धुलिखेल अस्पताल शाखा किर्नेटारमा सामान्य उपचार गरी काठमाण्डौ पठाइएको हो ।
त्यसैगरी विकास मिजार र तामाकोशी गाउँपालिका वडा नम्बर-५ का सरोज खड्कालाई एम्बुलेन्सबाट काठमाण्डौ पठाइएको छ ।
घाइतेमध्ये १३ जनाको प्रस्तावित चरिकोट अस्पतालमा, ३ जनाको दोलखा सामुदायिक अस्पतालमा र ३ जनाको धुलिखेल शाखा अस्पताल किर्नेटारमा उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरु प्राथमिक उपचार पछि घर फर्किएका दोलखा प्रहरीले जनाएको छ ।
बेहुला भने छुट्टै गाडीमा बसेका हुनाले सुरक्षित रहेको जनाइएको छ । ओरालोमा बस रोकिराखेकोले बस दुर्घटनामा परेको प्रहरीले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्