समाचार

देशभर मौसम बदली, काठमाडौँ लगायतका ठाउँमा पानी पर्ने



काठमाडौँ, ८ माघ । मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेलामा घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपराह्नदेखि भने देशभर पूर्ण बदली भई हल्का वर्षा र उच्च पहाडी भेगतिर मध्यम खालको हिमपात हुने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । रातिचाहिँ काठमाडौँ उपत्यकामा पनि वर्षा हुन सक्ने बताइएको छ ।

राति देशको पश्चिमी क्षेत्रका अधिकांश स्थानमा मध्यमदेखि हल्का हिमपात र वर्षाको सम्भावना छ । साथै उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने महाशाखाले जनाएको छ ।

त्यस्तै बुधबार मौसममा आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

बिहीबार देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।