समाचार

झापाका दुई स्थानमा आगलागी लाखौंको क्षति



झापा, १३ माघ । झापाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करीब रु ११ लाख ५० हजार बराबरको क्षति भएको छ ।

झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा आज बिहान ४ बजे बिजुली चुहावट भई आगलागी हुँदा रू नौ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागीबाट खनालको काठले बनेको टिनको छानो भएको एकतले ग्वाली घर, ७५ मन धान, ५० मन मकै, दुई मन तोरी, चार चौपाया, फर्निचरका सामान र भाडावर्तन जलेर नष्ट भएको छ ।

आगलागी बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ५ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, शनिबार साँझ झापा कनकाई नगरपालिका–४ का लङ्कबहादुर खड्काको घरमा आगलागी हुँदा रू दुई लाख ५० हजार बराबरको क्षति भएको छ ।

खड्काको फुसको छानो र टाटी बेरा लगाएको एकतले घरमा आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, १४ कुखुरा जलेर नष्ट भएको जिप्रका झापाले जनाएको छ ।