काठमाडौँ, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम टुङ्ग्याउन गठित कार्यदललाई मङ्गलबारभित्र कार्यप्रगतिको विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवायल बैठकले अहिलेसम्म भएको कार्यप्रगति विवरण पेश गर्न निर्देशन दिएको हो । कार्यदलले कार्यप्रगतिको विवरणसहित प्रतिवेदन बुझाइसकेपछि त्यसबारेमा आवश्यक निर्णय सचिवायलयले लिने र प्रतिवेदनलाई स्थायी कमिटी बैठकमा प्रस्तुत गरिने भएको छ ।
नेकपाले एकता प्रक्रियामा बाँकी रहेका साङ्गठनिक एकीकरणको कार्यभार गृहकार्य गरी सुझाव पेश गर्न स्थायी समितिले गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो ।
गत जेठमा पार्टी एकता भएपछि अहिलेसम्म केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्र गठन भएको छ । त्यस्तै अहिलेसम्म जनवर्गीय सङ्गठनमा इञ्जिनीयरिङ, कानून व्यवसायी, निर्माण व्यवसायी मात्र एकीकरण भएको छ । जिल्ला कमिटी र जनवर्गीय सङ्गठनको साङ्गठनिक एकता अझै टुङ्ग्एिको छैन ।
बैठकले भेनेजुयला घटनाप्रति कुनै भ्रम र गलत प्रचार नगर्न समेत आग्रह गरेको छ । कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता पार्टीले राखेको बताइएको छ ।
नेकपाको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धका प्रश्नमा कुनै अन्योल र द्विविधा नरहेको समेत स्पष्ट पारेको छ । हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने समेत बताएको छ ।










प्रतिक्रिया दिनुहोस्