काठमाडौँ, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले शिक्षा, स्वास्थ्य, जन्मदर्ता लगातयतका मानिसको नैसर्गिक अधिकारहरुलाई स्थापित गराउनु राज्यका तीन तहका सरकारको दायित्व भएको बताउनुभएको छ ।
भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं. १ मनोहरा सुकुम्वासी बस्तीमा रहेको सरस्वती आधारभुत विद्यालयको १३औं वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन गर्दै सांसद बस्नेतले कुनै पनि विकास निर्माणका कार्यमा निरास र कुण्ठित हुनु नपर्ने बताउँदै विकासमा एकताबद्ध भई सहकार्य गर्न आग्रह गर्नुभएको छ ।
उहाँले नेपाल सरकार पूनःनिर्माण अन्तर्गतको अभियानमा भक्तपुरमा ४० भन्दा बढी भवन निर्माण भएको, जसमध्येको एक स्वरस्वती निमावि रहेको जानकारी गराउँदै बस्तीमा विद्यालय भवन बनाउन कसैले बाधा व्यवधान गर्नु नहुने बताउनुभयो ।
जनताको भोट चल्ने, श्रम चल्ने तर विकासमा समर्थन नगर्नु दुःखद् भएको भन्दै पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले समस्यालाई वैज्ञानिक तथा कानुनको नजरलेमात्र नभई मानविय नजरले हेर्नु पर्नेमा जोड दिनुभयो । उहाँले काम गर्ने तरिका र आवश्यकतालाई मध्यनजर गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सुकुम्वासी वस्ती उठे उक्त ठाउँमा नयाँ सहर तथा बस्तीको विकास हुने भन्दै सांसद बस्नेतले भवन खेर जान्छ भनेर चिन्ता लिनु नपर्ने बताउनुभयो । उहाँले वडा र नगरपालिकाले उक्त भवनलाई स्वीकृत दिन कन्जुस्यायी गर्नु नहुने बताउनुभयो ।
उहाँले अर्को भवन निर्माण गर्न स्थानीय तहले व्यवस्थापन नगरे अर्को कुनै विकल्प प्रयोग गरी व्यवस्थित शिक्षा प्रणाली र आधुनिक शिक्षण पद्धतिको साथमा आधुनिक अध्ययनको वातावरण सिर्जना गराउन आफ्नो निरन्तर सहयोग रहने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जनताका प्रतिनिधिले समस्या भएकै ठाउँमा गई बहस गर्नुपर्ने बताउँदै सांसद बस्नेतले वडाध्यक्षले भवन निर्माणलाई आफ्नो वडाको लाभको रुपमा लिनुपर्छ, विकासमा पछि पर्नु नहुने बताउनुभयो । सांसद बस्नेतले सुकुम्वासी बस्तीमा विजुलीको मिटर, भवन नक्सापास लगायतका समस्यालाई समाधान गर्न आफुले पुलको भूमिका निर्वाह गर्दै वडाध्यक्ष तथा नगरपालिकासँग छलफल गर्ने समेत बताउनुभयो ।
बस्तीमा हार्दिकताको वातावरण सिर्जना भइरहेको बताउँदै सांसद बस्नेतले आगामी तीन चार महिनामा मनोहराको करिडोर निर्माण सम्पन्न गराउने, जसको प्रयोगबाट जडिवुटी–कोटेश्वरको जामलाई स्थायी रुपमा समाधान गर्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्