समाचार

आज श्रीपञ्चमी पर्व : विद्याकी देवी सरस्वतीको पूजा आरधाना गरी मनाईँदै



काठमाडौँ, २७ माघ । माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

आज श्रीपञ्चमी अर्थात वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गर्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वति पुजाकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन्।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा पनि आजको दिनलाई लिने गरिन्छ । विशेष गरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ(आफ्ना कलासाधनाका उपादानहरु कापी(कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्दछन् ।

आज काठमाडौको हनुमानढोका स्थित नासलचोकमा पुरोहित बाट बिधिपुर्वक कथा बाचन गरि वसन्त श्रवण गर्ने प्रचलन रहेको छ । राजधानीको स्वयम्भुमा रेहको सरस्वती मन्दिर सहित देशभरका सरस्वतीका मन्दिरहरुमा पुजाका लागि बिहानैदेखि सर्वसाधरण र विद्यार्थीको भीड लाग्ने गर्दछ । मन्दिर पाठशाला तथा घरमा सरस्वतीको पुजा अराधना गर्नाले विद्या प्राप्ति हुने विश्वास रहेको छ ।