काठमाडौं, २ फागुन । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा आउने सेवाग्राहीको सहजताका लागि बुधबारदेखि सुविधासम्पन्न कम्प्युटर प्रणाली (टोकन सिस्टम) सहितको आधुनिक नागरिक सहायता कक्ष बनाइएको छ ।
नागरिक—समुदाय साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न व्यक्ति, विद्यालय, कलेज तथा व्यापारिक प्रतिष्ठान र सामाजिक संघसंस्थाको आर्थिक तथा भौतिक सहयोगमा सो कक्ष निर्माण गरिएको हो ।
सिसिटिभि क्यामेरा जडित नियमित टेलिभिजन प्रशारण सहितको उक्त कक्षमा सेवाग्राहीको लागि टोकन प्रणाली, तातो चिसो पानीको व्यवस्था, निशुल्क फाराम, निःशुल्क वाइफाईको सुविधा सहित कम्तिमा ४० जना बस्न मिल्ने गरि कुर्सीको व्यवस्था गरिएको छ ।
नेपाल प्रहरीबाट प्रकाशित प्रहरी बुलेटिन, अन्य सन्दर्भ पुस्तक र पोष्टर, पम्प्लेटसमेतको व्यवस्था नागरिक सहायता कक्षमा गरिएको सो वृत्तका प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपि) गोविन्दराज काफ्लेले बताए ।
नागरिक सहायता कक्षमा आएकामध्ये काम भएका सेवाग्राहीमात्रै सम्वन्धित विभाग या शाखामा जान पाउने गरि टोकनको व्यवस्था गरिएको र यसले गर्दा ति शाखामा अनावश्यक व्यक्ति (विचौलियाहरु) को भीडभाड स्वतः कम हुने डिएसपि काफ्लेले बताए । आधुनिक सुविधासहितको नागरिक सहायता कक्षले सेवाग्राहीको सुविधा र विचौलिया नियन्त्रण गर्नका लागि टेवा पुरयाउने विश्वास गरिएको छ । टोकन छाप्नका लागि एकिकृत उपभोक्ता संघले एउटा प्रिन्टर उपलव्ध गराएको छ ।
यसैगरि नेपाल प्रहरीका विभिन्न सुचना निरन्तर प्रशारण गर्ने गरि वृत्तको छतमा राखिएको ठुलो डिजिटल सूचना बोर्ड (डिस्प्ले बोर्ड) पनि बुधबारदेखि नै सञ्चालनमा ल्याइएको छ । साथै वृत्तमा रहेको ८ वटामा अरु ४ वटा थप गरि १२ वटा सिसिटिभि क्यामेरा पनि आजैदेखि सञ्चालनमा ल्याइयो । पुर्व प्रहरी एवम् समाजसेवी टेकबहादुर शाक्यले सो ४ वटा सिसि क्यामेरा उपलब्ध गराएका हुन । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक बसन्त कुमार लामाले सो नागरिक सहायता कक्षको उद्घाटन गर्नुका साथै डिजिटल सुचना वोर्ड सञ्चालन पनि शुभारम्भ गरे । सुरक्षित नागरिक समाजको ३ लाख रुपैयाको सहयोगमा सो वोर्ड स्थापना गरिएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै परिसर प्रमुख लामाले महानगरीय प्रहरी परिसर माताहत रहेका सबै वृत्त र प्रभागका नागरिक सहायता कक्षलाई व्यवस्थित गर्ने परिसरको उद्धेश्य रहेको र यसको शुरुवात महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट भएकोमा खुसी व्यक्त गरे ।
परिसरले यसै महिनादेखि महानगरको हरेक घरमा सुरक्षा सम्वन्धि विभिन्न सूचना सामग्री सहितको स्टिकर टाँस्ने उल्लेख गर्दै परिसर प्रमुख लामाले काठमाडौं महानगरपालिकाका सम्वन्धित वडासंग समन्वय गरि हरेक घरमा थप एकएक वटा विरुवा उपहार दिने योजना रहेको पनि जानकारी गराए ।










प्रतिक्रिया दिनुहोस्