समाचार

४५ सवारी साधन कारवाहीमा



काठमाडौँ, ९ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ ।

हाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्य दुई चालक राख्नुपर्ने भन्दै सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो ।

प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा दुई सवारीचालक राखे-नराखेको जानकारी लिन ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालमा ल्याएको छ ।

सोही अनुसार लामो दूरीका सवारी साधनमा दुई चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न एप्स सञ्चालनमा ल्याएको बताउँदै उक्त कानून नमान्ने सवारी साधनलाई कारवाही गरिएको जनाएको छ ।

निर्देशनालयले लामो दूरीका सवारीचालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था मिलाएपछि सजिलो साथै सवारी दुर्घटना न्यूनीकरण हुने बताइएको छ ।