काठमाडौँ, ९ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा भाषा र संस्कृति नहुँदा भूगोलले मात्रै देश नरहने बताएका छन ।
बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१९’ का अवसरमा आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताउएका छन ।
उनले संस्कृत भाषा विश्वको सबैभन्दा पहिलो लिपिबद्ध भाषा भएको बताउदै अल्पसङ्ख्यक वा बहुसङ्ख्यक सबैले बोल्ने भाषाको महत्व उत्तिकै रहेको बताए ।
सरकारी विद्यालयमा अङ्ग्रेजी भाषाको प्रयोग बढ्नु दुःखद् भएको बताउदै उनले भने, ‘भाषा र संस्कृति नहुँदा भूगोलले मात्रै देश रहँदैन’, ‘भाषा संरक्षण र प्रवद्र्धनका लागि एकपछि अर्को पुस्तामा हस्तान्तरण गर्दै जानुपर्छ ।’
संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनस्को) ले सन् १९९९ मा गरेको निर्णयअनुसार सन् २००० देखि फेब्रुअरी २१ मा यो दिवस मनाउन थालिएको हो । नेपालले भने आठ वर्षदेखि यो दिवस मनाउँदै आएको छ ।










प्रतिक्रिया दिनुहोस्