Banner News

पोखरा पर्यटनमात्र नभई खेलकूदको समेत राजधानी : मन्त्री अधिकारी



पोखरा, १० फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा पर्यटनमात्र नभई खेलकूदको समेत राजधानी भएको बताउनुभएको छ ।

सहारा क्लबद्वारा पोखरा रङ्गशालामा आयोजित १७औँ संस्करणको आहा रारा गोल्ड कपको बिहीबार उद्घाटन गर्दै उहाँले पर्यटन प्रवद्र्धनको मुख्य आधार खेलकूद भएको बताउनुभयो । मन्त्री अधिकारीले पोखरा रङ्गशालालाई सुविधा सम्पन्न बनाउन तीनै तहका सरकारबीच समन्वय अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

उहाँले सरकारले सङ्घीय संरचनालाई प्रभावकारी र व्यवस्थितरुपमा अगाडि बढाउनाका साथै आवश्यक कानूनी संरचना तथा पूर्वाधार विकासमा जोड दिनुभयो । उहाँले अब मुलुक समृद्धितर्फ उन्मुख भएको र जनताको विकास प्रतिको तिव्र चाहनालाई कसैले रोक्न नसक्ने दावि गर्नुभयो । सन् २०२० सम्ममा पोखरा विमानस्थलको निर्माण सम्पन्न हुने र २०२१ जनवरीमा परीक्षण उडान गरी फेब्रुअरीदेखि सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

प्रतियोगिताको आज भएको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले आयोजक सहारा क्लबलाई टाइब्रेकरमा चारका विरुद्ध पाँच गोलले पराजित गरेको छ ।

प्रतियोगितामा विभागीय तीन टोलीसहित मनाङमस्याङ्दी क्लब, धरान फुटबल क्लब थ्री स्टर क्लब, डफिन्स फेमिली टिम क्याम्रुङ, हिमालय शेर्पा क्लब, युनाइटेड सिक्किम फुटबल क्लब भारत गरी कूल १० टोलीको सहभागिता छ ।