राजनीति

सभापति देउवाले गैरजिम्मेवार अभिव्यक्ति दिनु राम्रो संस्कार होइन : नेता कोइराला



विराटनगर, १३ फागुन । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक समस्यामा गैरजिम्मेवारी अभिव्यक्ति दिनु राम्रो संस्कार नभएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भन्नुभयो ‘पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठ्यारो लाग्छ भने त्यसमा मेरो केही भन्नु छैन, पार्टी सभापति शेरबहादुर देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार होइन ।’

उहाँले पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नहुने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘१४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्छ, पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न हुन्न,’ कोइरालाको भनाई थियो ।

केन्द्रीय सदस्य डा। कोइरालाले सङ्गठनलाई मजबुत बनाउन १४औँ महाधिवेशनका लागि केन्द्रीय समितिले अहिलेदेखि नै अभियानमा लाग्नुपर्ने भन्दै नेपाल विद्यार्थी सङ्घमा भएको विवादले परिणाम राम्रो नदिने सङ्केत गर्नुभयो ।

उहाँले नेपाल विद्यार्थी सङ्घमा लाग्ने विद्यार्थीको उमेरको हद ३२ वर्ष रहेको र यसलाई बढाउने वा नबढाउने कुरामा पार्टीमा छलफल भइरहेको बताउनुभयो । उहाँले न्यायपालिकालाई निरीह हुन नदिन र शान्तिसुरक्षालाई कसिलो बनाउन सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो ।