समाचार

बाजुरामा पुनःहिमपात, जनजीवन कष्टकर



बाजुरा, १४ फागुन । बाजुराका अधिकांश क्षेत्रमा सोमबारदेखि पुनः हिमपात भएको छ ।

माघ पहिलो साताबाट शुरु भएको हिमपातसँगै भारी वर्षाका कारण बाजुरावासीको जनजीवन कष्टकर बन्दै गएको छ । लगातार वर्षाका कारण यहाँका ग्रामीण सडक आंशिक रुपमा बन्द भएका छन् । यातायात बन्द हँुदा कामका लागि सदरमुकाम आवतजावत गर्ने स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।

वर्षाका कारण आंशिकरूपमा यातायातका साधन बन्द भएपछि ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामानको अभाव भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले बताउनुभयो । मार्तडी–कोल्टी सडक खण्डको पोरखे लेकमा ४ देखी ५ फिट हिउँ जमेको छ । माघ पहिलो सातादेखि नै उत्तरी भेगको यातायात पूर्ण रुपमा बन्द भएको छ ।

जिल्लामा लगातार हिमपात हुँदा हिमाली क्षेत्रका विद्यालयमा पढाइ प्रभावित बनेको छ । बडिमालिका, बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर, जगन्नथ, गौमुल, खप्तड छेडेदह गाउँपालिकको उच्च हिमाली क्षेत्रका शैक्षिक संस्था हिमपातका कारण प्रभावित छन् ।