शैक्षिक

कोसीटप्पु वन्यजन्तु आरक्षमा बदेलको आक्रमण



इनरुवा, ५ माघ । कोसीटप्पु वन्यजन्तु आरक्षमा आज बदेलको आक्रमणबाट चार जना घाइते भएका छन् ।

घाइते हुनेमा सुनसरी पश्चिमकुशाहा–८ बस्ने ८ रिना उराव, सङ्गीता चन्द्रवंशी, रामे उराव र पश्चिमकुशाहा–९ बस्ने चन्द्रदेव यादव रहेको आरक्षको कार्यालयले जनाएको छ ।

खर काट्न आरक्ष गएका बेला उनीहरुलाई बदेलले आक्रमण गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए ।

यसैबीच आरक्षले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको पहलमा तीन दिनका लागि खरखडाई गर्न खुल्ला गरेको थियो । आरक्ष प्रशासनले खरखडाई गर्न यही माघ २ देखि ४ गतेसम्म पुर्जी वितरण गरेको थियो भने आजदेखि आरक्षको कार्यालय क्षेत्र र विभिन्न छ वटा पोस्टबाट खर काट्नका लागि प्रवेश खुल्ला गरिएको उनले वताए ।