काठमाडौँ, २२ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपालले आगामी फागुन २३ गते दिनको ठिक १२ बजे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी तथा पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको संयुक्त श्रद्धाञ्जलीमा उपस्थितीको लागि आग्रह गरको छ ।
संघको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौँमा भएको केन्द्रीय कमिटीको बैठकले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि मृत्यु हुनुभएका मन्त्री अधिकारी सहित सातै जना तथा जनप्रीय नेता भरत मोहन अधिकारीको भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।
समृद्ध नेपाल सुखी नेपालीका मूख्य हस्तीका रुपमा रहनुभएका अधिकारी द्वयको मृत्युले आम युवा तथा विद्यार्थीलाई मात्र नभई देशलाई ठूलो क्षती पुगेको बताउँदै उहाँहरुको योजनालाई साकार पार्नुनै सच्चा श्रद्धाञ्जली हुने भएकाले आजदेखि नै उहाँहरुको समृद्ध नेपाल निर्माण गर्ने योजनालाई सफल बनाउन युवा तथा विद्यार्थी गाउँ गाउँ बस्ती बस्तीबाट उठ्न समेत युवा संघले आग्रह गरेको छ ।
संघले नेपाल र नेपालीको उज्यालो दियोका रुपमा परिचित अधिकारी द्वयले देखाएको बाटोमा हिडि राष्ट्र र राष्ट्रियतालाई जगेर्ना गर्दै समृद्ध राष्ट्र निर्माणमा लाग्न आम नेपालीलाई आग्रह समेत गरेको छ ।
कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले अधिकारी द्वयको निधनले देशलाई अपुरणीय क्षती पुगेको भन्दै उहाँहरुको योजना र सपनालाई पुरा गर्न युवा संघले आगामी दिनमा नेतृत्वदायी भूमिका निर्माह गर्दै लक्ष्य प्राप्त गरेरै छाड्ने बताउनुभएको छ । उहाँले पार्टीको आयोजनामा २३ गते हुने श्रद्धाञ्जली सभामा हजारौं मानिसको उपस्थिती हुने बताउँदै युवा संघको तर्फबाट कम्तीमा पनि १५ सय युवाहरु श्रद्धाञ्जली सभामा उपस्थिती हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले संघ सवै नेता तथा कार्यकर्तालाई सक्रियताका साथ संघले दिएको जिम्मेवारी पुरा गर्न समेत आग्रह गर्नुभयो । युवा बैचारीक शक्तिको मुख्य आधार भएको भन्दै अध्यक्ष पौडेलले पदिय लोभमा मात्र संघलाई आफ्नो ठान्ने तर जिम्मेवारी बहन नगर्नेको हिसाव किताव हुने दिन आइसकेको समेत बताउनुभयो ।
कार्यक्रममा उहाँले तल्लो कमिटीको एकतालाई जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्ने बताउँदै संघको तर्फबाट आधिकारीक रुपमा तत्कालै आफ्नो पार्टी ध्यानाकर्षण गराउने समेत बताउनुभयो । उहाँले पार्टी एकताले मूर्त रुप लिन नसक्दै कार्यकर्तामा केही मात्रामा विचलित भइरहेको बताउँदै आफ्ना कार्यकर्तालाई धैर्य गर्न आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रतिक्षाको फल मिठो हुन्छ, जहाँसम्म मलाई लाग्छ अबको केही समयमा नै एकताको काम सम्पन्न हुन्छ ।’
नेकपाको आयोजनामा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको घटनास्थलमा नै मृत्यु भएको साथ नेपालका जनताको मनमुटुका नेता भरतमोहन अधिकारीको श्रद्धाञ्जली सभा फागुन २३ गते काठमाडौँको भृकुटीमण्डपमा हुने भएको हो ।
सभामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री के पि शर्मा ओलि र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष, पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।










प्रतिक्रिया दिनुहोस्