Banner News

युवाका हातमा भावी नेतृत्व, अनुशासित र शिक्षित हुनुपर्छ : प्रधानमन्त्री ओली



काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको भावी नेतृत्व युवा पुस्ताका काँधमा जाने भन्दै युवा अनुशासित र शिक्षित हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सेवा दलमा आबद्ध नेपालसहित आठ देशका प्रशिक्षार्थीसँग मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँले अहिलेका युवा पुस्ताको असल कार्यको परिणाम भविष्यमा देखिने भएकाले आत्मानुशासनमा रहेर काम गर्नुपर्ने बताउनुभयो । आगामी दिनमा देशको नेतृत्व युवाको काँधमा भएकाले इमान्दारीपूर्वक अनुशासनमा रहेर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी संविधान कार्यान्वयनको आधारभूत व्यवस्थामार्फत सेवा प्रवाह, सुशासन र आर्थिक विकासमा केन्द्रित छौँ, अब देशको आर्थिक उन्नयन र समृद्धि प्राप्तिको लक्ष्य हासिल गर्नेतर्फ उन्मुख छौँ, त्यसका लागि लामो समयसम्म धैर्य गर्न सक्दैनौँ, हाम्रा सबै प्रयत्न त्यसतर्फ केन्द्रित छन्, यो उद्देश्य प्राप्तिमा राष्ट्रिय सेवा दल महत्वपूर्ण माध्यम बन्नसक्छ ।”

उहाँले राष्ट्र निर्माण र यसलाई प्रगतिको पथमा अग्रसर तुल्याउन परिवर्तित समयानुसारको विज्ञान र प्रविधिलाई आत्मसात् गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।