समाचार

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ जना घाइते



तनहुँ, २२ फागुन । तनहुँको पृथ्वी राजमार्ग अन्तर्गत घाँसिकुवामा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन ।

मंगलबार बन्दीपुर गाउँपालिका –३ रामकोटबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप पृथ्वी राजमार्ग अन्तर्गत घाँसिकुवा सडकबाट करिब १० मिटर तल खस्दा रामकोटका ७५ वर्षीय बुद्धिबहादुर थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा परी १२ यात्रु घाइते भएका छन् । घाइते हुनेहरुमा चालक नरबहादुर घर्ती, जीप मालिक दलबहादुर सुनारी मगर, यात्रुहरु कुमार बस्याल, होमबहादुर थापा, घनश्याम थापा, सावित्री थापा, देवीमाया थापा खुममाया थापा, बेलिसरा थापा मगर, मिरा थापा र लक्ष्मी पन्थ रहेका छन् । उनिहरुको दमौली स्थित रत्नहरी अस्पताल र दमौली अस्पतालमा उपचार भइरहेको छ ।

चालक घर्तीलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । उक्त दुर्घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।