Banner News

महिला हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक : राष्ट्रपति भण्डारी



काठमाडौं, २५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताएकी छन् ।

शुक्रबार १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले समाजमा विद्यमान बोक्सी, छाउपडी, दाईजो प्रथालगायतका समाजमा अझै पनि जरो गाडेर बसेको अन्धविश्वास र कुरीति अन्त्यका लागि बनाइएका कानुन प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह समेत गरेकी छन ।

राष्ट्रपति भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गरेकी छिन् । नेपालको संविधानले छाउपडी प्रथा अन्त्य गर्ने व्यवस्था गरेपनि त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन जरुरी रहेको पनि बताइन् ।

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि संघ, प्रदेश र स्थानीय सरकारले मिलेर अभियाननै सञ्चालन गरिरहेको बताएकी छन ।

सरकारले बोक्सी, छाउपडीजस्ता सामाजिक अन्धविश्वास अन्त्यका लागि सक्दो पहल गरिरहेको भन्दै मन्त्री थापाले सरकारले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि महिला हिंसा विरुद्धको राष्ट्रिय अभियाननै सञ्चालन गरिरहेको पनि स्मरण गराइन् ।