समाचार

मजदुर बोकेको बस दोलखामा दुर्घटना : २ जनाको मृत्यु, २४ घाइते



दोलखा, १ चैत्र । दोलखाको बिगो गाउँपालिका–१, नयाँबाटोमा मजदुर बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

सिनो हाइड्रोले भाडामा लिएर चलाएको बा ४ ख ४५७३ नम्बरको बस शुक्रबार बिहान ७ः४५ बजे दुर्घटना भएको हो । दुर्घटनामा सुर्खेत चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का हीराप्रसाद मिजारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ ।

दुर्घटनामा घाइते २४ जनाको जिल्ला सदरमुकाम चरिकोटका अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, घाइतेमध्ये ४ को अवस्था गम्भीर छ ।