काठमाडौं, २ चैत । सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक विदा दिएको छ ।
आज शुक्रबार प्रकाशित राजपत्र अनुसार सूचनागृह मन्त्रालयले देशैभरी विदा हुने गरी जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिएको हो ।
वैशाख : वैशाखमा नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक विदा दिइएको छ ।
जेठ : महिनामा एक दिनमात्र ४ गते शनिबार सार्वजनिक विदा दिइएको छ ।
असार, साउन र भदौ : सार्वजनिक विदा दिइएको छैन ।
असोज : ३ गते शुक्रबार संविधान दिवसको दिन सार्वजनिक विदा र असोजमै १८ गते शनिबारदेखि २२ बुधबारसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन सार्वजनिक विदा दिइएको छ ।
कात्तिक : महिनामा तिहारका तीन दिन विदा परेको छ । कात्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म अर्थात लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन विदा दिइएको छ ।
मंसिर, पुस र माघ : महिनामा देशभर लागू हुने गरी विदा दिइएको छैन ।
फागुन : महिनामा ९ गते शुक्रबार महाशिवरात्रीमा र फागुन २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा दिइएको छ । त्यस्तै फागू पूर्णिमाका दिन फागुन २६ गते सोमबार पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार सार्वजनिक विदा दिइएको छ ।
चैत : महिनामा भने सार्वजनिक विदा परेको छैन ।
महिला कर्मचारीहरुलाई १६ गते सोमबार तीज सार्वजनिक विदा दिइएको छ । जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीले भने असोज ५ गते आइतबार पनि विदा पाउनेछन् ।
त्यस्तै अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते मंगलबार अन्तर्राष्ट्रिय अपांगता दिवसमा विदा दिइएको छ । शिक्षण संस्थाहरुमा माघ १६ गते विहीबार श्रीपञ्चमीको दिन पनि विदा दिइएको छ ।
तेसैगरी सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि पनि सार्वजनिक विदा दिएको छ ।










प्रतिक्रिया दिनुहोस्