Banner News

गृहमन्त्री निधिले तराई बाट एमाले लखेट्न दिएको निर्देशनको परिणाम हो सप्तरी घटना



रामेश्वर फुयाँल, सभासद –एमाले

गृहमन्त्रीको राजीनामाको माग गर्नु भएको छ नी ?

गृहमन्त्रीको कुर्सी सिँगो नेपालको कुर्सी भएकोले त्यो कुर्सीमा बसेर सुरक्षा भड्काउने काम गरेकाले मैले गृहमन्त्रीको राजीनामाको माग गरेको हो ।उनले तत्काल राजीनामा दिनुपर्छ । मन्त्री निधिले एमालेलाई मधेशबाट लखेट भन्ने अभिव्यक्ति दिएको परिणाम हो सप्तरीको दुःखद घटना ।

एमाले पार्टीको मेची–महाकाली अभियान पूर्वनिर्धारित कार्यक्रम रहेको थियो । दुई महिना अघि नै यो कार्यक्रमको वारेमा एमालेले सार्वजनिक गरेको थियो । एमालेको सो अभियान संविधान कार्यान्वयन र मधेसका वारेमा एमालेको विरोधमा छरिएको भ्रम चिर्नका लागि हाम्रो पार्टीले आयोजना गरेको हो ।

त्यसो त एमालेलाई तराईमा कार्यक्रम नगर्न मधेसवादी दलहरुले भनेका थिए होइन र ?

मैले पहिले नै भनिसेके, एमालेको अभियान धेरै पहिले नै तय भएको हो । पार्टीले अभियान चलाएर संविधानको मौलिक हकको प्रयोग गरेको हो । संविधानको धारा १७ को कार्यान्वयन गरेको हो । त्यस अन्र्तगत ‘मधेशमा एमालेले आमसभा गर्न पाउँछ, नेपालको कुनैपनि भुभागमा आवतजावत गर्न पाउँछ, सभाको आयोजना गर्न पाउँछ । वाघले बन देखेको छ ।

एमाले जनताको पार्टी हो । जनताको बीचमा रमाउने र उनीहरुसंग नै घुलमिल हुने पार्टीलाई तिमी जनताको मा नजाउ भन्दा मान्ने कुरै भएन । अहिले पूर्ण लोकतन्त्रको रेल एमालेले दौडाएको छ । यो रेल देश भर नै दौडिने छ । हामी देशभरि आमसभा गछौ ।

मधेसमा हजारै–हजार जनता हाम्रो अभियानमा सहभागी भए । मधेसका गाउँ–गाउँबाट हाम्रो पार्टीको सभामा आएका जनतालाई मोर्चाका कार्यकर्ताहरुले छेक्क, थुन गर्न खोज्दा पनि तराईमा एमालेको सभामा जनता ओइरिए ।

गृहमन्त्रीको काम मुलुकमा अमन चयन र शान्ति सुरक्षा कायम गर्ने नै हो, तर गृहमन्त्रीले नै हिंसा भड्काउने अभिव्यक्ति दिएका कारण उनी यो घटनामा पूर्णरुपमा जिम्मेवार छन् 

सप्तरीमा घटेको घटनाको जिम्मेवारीको सम्बन्धमा के भन्नुहुन्छ ?

शान्तिसुरक्षा गर्ने काम सरकारको हो । त्यसैले यो दुःखद घटनाको जिम्मेवारी गृहमन्त्रीले लिनु पर्छ । गृहमन्त्रीको काम मुलुकमा अमन चयन र शान्ति सुरक्षा कायम गर्ने नै हो, तर गृहमन्त्रीले नै हिंसा भड्काउने अभिव्यक्ति दिएका कारण उनी यो घटनामा पूर्णरुपमा जिम्मेवार छन् । सप्तरीमा दुःखद घटना घट्नुमा सरकारको कमीकमजोरी रहेको छ ।

सप्तरीको घटनालाई कसरी हेर्नुभएको छ ?

हाम्रो पार्टी नेकपा एमालेले राजविराज घटनालाई दुःखद् भनेको छ । यही फागुन २१ बाट सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियान अन्यन्त भव्य, प्रभावकारी र शान्तिपूर्ण ढंगले अगाडि बढिरहेको र अभियानमा लाखौँ जनता उत्साहपूर्वक सहभागी भइरहेको अवस्थामा सोमबार राजविराजमा कम्तीमा चार जनाको ज्यान जाने गरी भएको घटनाबाट पार्टी दुःखी भएको एमालेले विज्ञप्ति मार्फत नै जनाइसकेको छ ।

एमालेको सभा, जुलुस सबै शान्तिपूर्ण नै थियो होइनन र ?

एकदम शान्तिपूर्णरुपमा थियो । त्यो तपाईहरुले पनि संचारमाध्यमबाट देख्नु भएकै छ होइन । ‘संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै शान्तिपूर्ण अभियानमा निस्किएको एमाले लाई प्रवेश निषेधको धम्की दिने, कार्यक्रममा सहभागी हुन हिडेका सर्वसाधारणमाथि सांघातिक आक्रमण गर्ने, कार्यक्रमस्थल नजिकै विस्फोटक पदार्थ बिछ्याउने र संयमतापूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहेका सुरक्षाकर्मीहरुमाथि ढुंगामुढा, पेट्रोल बम प्रहार गर्ने जस्ता कामहरु गरेर मधेसी मोर्चाका कार्यकर्ताले अत्यन्त अराजक र हिंसात्मक गतिविधिहरु प्रदर्शन गरेका थिए ।

सप्तरी घटनाले सरकारले घोषणा गरेको निर्वाचनलाई प्रभावित पार्छ ?

‘हाम्रो पार्टीले मुलुकलाई जबर्जस्ती मुडभेडतर्फ धकेलेर निर्वाचन हुन नदिने र अन्ततः संविधानलाई असफल पार्ने षड्यन्त्र हुँदै गरेको विश्लेषण विगतमै गरेको थियो । हिजोको घटनाले मधेसी मोर्चाको आवरणमा भइरहेका यस्ता षड्यन्त्रकारी र बिध्वांसात्मक गतिविधिलाई नै पुष्टि गरेको छ ।