शैक्षिक

आजदेखि एसईई परीक्षा



यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदै छ ।

आज बिहान ८ बजेदेखि हुने परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको जाँच हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । संघीय परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षा संरचनाअनुसार पहिलोपटक एसईई  हुन लागेको हो ।

परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । परीक्षा नियन्त्रक अधिकारीले परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी हुदैछन् । त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् ।

त्यस्तै प्रदेश नं १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल हुनेछन् ।

परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित हुनेछन् ।