राजनीति

विप्लवले हत्या, हिंसा र हतियारको राजनीति त्याग्नुपर्छ : नेता खाँड



काठमाडौँ, ११ चैत । नेपाली कांग्रेसका नेता तथा प्रमुख सचेतक बालकृष्ण खाँडले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले हत्या, हिंसा र हतियारको राजनीतिलाई त्यागी शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गर्नुभएको छ ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु बेठीक भएको भन्दै सचेतक खाँडले सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएर झन् उत्तेजित बनाउने काम गरेको बताउनुभएको छ ।

कांग्रेसले संसदको हिउँदे अधिवेशनमा प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भए पनि प्रभावकारी नभएको ठहर गरेको छ । ‘संसदको हिउँदे अधिवेशनमा प्रश्नोत्तरका कार्यक्रम सुरु भए तर मन्त्री र प्रधानमन्त्री भाग्न खोनुभयो’ प्रमुख सचेतक खाँडले भन्नुभयो, ‘यो विषयलाई हामीले त्यसबेला पनि उठायौं । अर्को अधिवेशनमा पनि उठाउछौं ।’

कांग्रेसले संघीय संसदमा पेश गरिएको ‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, प्रधानमन्त्रीले सेना परिचालन गर्ने प्रावधानसहित ल्याइएको सो विधेयक संविधान प्रतिकूल हुनेगरी आएको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।

बैठकले संघीय संसदमा पेश गरिएको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकार्य नहुने पनि स्पष्ट पारेको छ । प्रमुख सचेतक खाँडले प्रेस स्वतन्त्रता र सूचना प्रविधि माथि नै अंकुश लगाउने गरी आएको सो विधेयक स्वीकार्य नहुने निर्णय पनि संसदीय दलको बैठकले गरेको बताउनुभयो ।