काठमाडौँ, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तोकेको समय सिमा भित्रमा नेत्रविक्रम चन्द (विप्लव) समूह वार्तामा नआए उक्त समुहका सवै नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिने चेतावनी दिनुभएको छ ।
सोमबार संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुलाई सरकारका कामबारे जानकारी दिँदै ओलीले अहिले पनि शान्तिपूर्ण बाटोमा आउन विप्लव समूहसँग समय रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले विप्लव समूहलाई शान्तिपूर्ण बाटोमा आउन चैत मसान्तसम्मको अल्टिमेटम दिनुभएको हो ।
निर्धारित समयसम्ममा हिंसा त्यागेको घोषणा गर्दै सरकारलाई हतियार नबुझाएमा विप्लवसहित सबै नेता कार्यकर्तालाई तत्कालै नियन्त्रणमा लिने र देशमा शान्ति स्थापनाको लागि कुनै कसर चाल्न सरकार पछि नपर्ने बताउनुभयो । देशमा आतंककारी गतिविधि गर्ने, चन्दाका नाममा लुटतन्त्र, विकास र समृद्धिको बाधक हुने कसैलाई छुट नभएको बताउँदै निर्धारित समयसम्ममा विप्लव समूहले देशको मुलधारमा आउनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा सरकारले गरेका राम्रो कामको प्रचार गर्न तथा जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न सांसदसँग उहाँले आग्रह गर्नुभयो । उहाँले आगामी वर्षको नीति र कार्यक्रमका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर फर्कन पनि सांसदसँग अनुरोध गर्नुभयो ।
नेकपाका अध्यक्ष ओलीले पार्टी एकताको कामलाई चाँडै टुङग्याइने समेत बताउनुभयो । ‘‘हामीले पार्टीको सम्पूर्ण तहको एकीकरण उहिल्यै गरिसक्नुपर्ने थियो । एक महीनामा हुनुपर्ने पार्टी एकीकरणको काम दश महीनामा सकिएको छैन’’, उहाँले भन्नुभयो, ‘‘अब पार्टी एकतालाई छिट्टै टुङ्ग्याउँदैछौँ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट आउनेबित्तिकै एकतालाई टुङग्याउछौँ ।’’










प्रतिक्रिया दिनुहोस्