राजनीति

त्रास र आतङ्कमुक्त गर्न राज्य प्रयत्नरत छ : वरिष्ठ नेता नेपाल



चितवन, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले त्रास र आतङ्कमुक्त गर्न राज्यले प्रयत्न गरिरहेको बताएका छन ।

सोमबार प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपाल नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादबाट समस्याको समाधान हुने बताए ।

उनले भने, ‘लगानी सम्मेलनको तयारी गरिएको छ, लगानीकर्तालाई बम पड्काएर, धम्की दिएर कसरी लगानी सम्मेलन सफल हुन्छ रु” यस्तो अवस्थामा बाह्य र आन्तरिक लगानीमा मान्छेको रुचि नहुने साथै त्रास र आतङ्कमुक्त गर्न राज्यले प्रयत्न गरिरहेको छ ।’

सरकारले चन्द नेतृत्वको समूहका गतिविधिलाई नियन्त्रणमा लिएको भन्दै उनले भने, “नेत्रविक्रम चन्दले आफैँले पहल गरी शान्तिपूर्ण अवतरण हुने काम गर्नुभयो भने उहाँहरुको पनि शक्ति, ऊर्जा, अनुभव यो देशलाई रुपान्तरण गर्ने काममा प्रयोग हुन्छ ।”

मन्त्रिमण्डलमा नयाँ अनुहार पठाउने सवालमा नेता नेपालले सरकार गठन भएको एक वर्ष भइसकेकाले कामको मूल्याङ्कन गरी फेरबदल गर्नु उपयुक्त हुने बताए ।