राजनीति

बदनीयतपूर्ण तथा भ्रामक कुराको आयु छोटो हुन्छ : सांसद बस्नेत



भक्तपुर, १५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कुनै पनि अनावश्यक रुपमा सिर्जना गरिएका बदनीयतपूर्ण तथा भ्रामक कुराको आयु छोटो हुने भन्दै सत्य कुरालाई डोकोले छोपेर नछोपिने बताउनुभएको छ ।

भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाको २३औं स्थापना दिवशको अवसरमा बोल्दै सांसद बसेनतले सँगै सुत्दा लात्ती लाग्ने, आगो बाल्दा दाउरा ठोसेन भने आगो नबल्ने भएकाले काम गर्ने दैरानमा सानातिना समस्या आए त्यसलाई आवश्यकता अनुसार समाधान गर्दै विकास निर्माणका कार्यलाई तिव्र गतिमा अघि बढाउनुपर्ने बताउनुभयो ।

भक्तपुरको विकास र समृद्धिको लागि मास्टर प्लान बनाउन आग्रह गर्दै उहाँले देशको विकास र समृद्धि गर्न कुनै राजीतिक दल फरक बाटोमा नभई एउटै धारमा अघि बढ्नु पर्नेमा जोड दिनुभयो । सांसद बस्नेतले कुनै पनि विकास निर्माण तथा अन्य प्रतिपर्धालाई स्वच्छता र मर्यादित ढंगले अघि बढ्नुपर्ने भन्दै विकास निर्माणका कामको मूल्याङ्कन तथा समिक्षा हुन जरुरी रहेको बताउनुभयो । उहाँले कामको मूल्याङ्कन तथा समिक्षाका कारण गल्तीलाई सच्याउने र आगामी दिनमा सहि बाटोमा हिड्ने कुराको तय हुने भएकाले कुनै पनि कामको जस जति मेरो अपजस जति तेरो भन्ने दृष्टिकोण राख्नु नुहने बताउनुभयो ।

निर्वाचनमा गरेको प्रतिवद्धता अनुरुप साना तथा ठूला काम गरि जनताको विकास प्रतिको तिव्र चाहनालाई पुरा गर्दै गएको बताउँदै सांसद बस्नेतले नीतिगत, बजेट कार्यान्वयन तथा जनताका हितका सन्दर्भमा सामुहिक स्वामित्व ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यक्तिगत स्वार्थभन्दा सामुहिक स्वार्थ मूख्य हुने बताउनुभयो ।

उहाँले भक्तपुरमा सभागृह, प्राणी उद्यान केन्द्र, वीर अस्पताल तथा बाहिरी चक्रपथ लगायतका विकास निर्माणका कार्यमा लगानी सम्मेलनले विशेष ध्यान दिने समेत जानकारी गराउनुभयो । सांसद बस्नेतले भक्तपुर कला, संस्कृति तथा विविध परम्पराले देशमा गर्व गर्न लायक रहेको बताउँदै भक्तपुरका हजारौं जनता विकास निर्माणमा सडकमा आउने गरेको र जनताको साथ उच्चतम विन्दुमा पुर्याउन जनप्रतिनिधि तथा अन्या सम्पूर्ण राजनीतिक दल एक ढिक्का भई लाग्नुपर्नेमा जोड दिनुभयो ।

हनुमन्ते नदीको करिडोर अब दुई चरणमा बजेट निकासा गरी अरनीको राजमार्गको समानान्तर सडक हुने बताउँदै सांसद बस्नेतले मनोहरा करिडोर तथा प्लानिङका कामले भक्तपुरको विकासमा ठूलो फड्को मारेको समेत बताउनुभयो । उहाँले अरनीको राजमार्गमा तत्कालै तीनवटा आकाशे पुल निर्माण हुने जानकारी गराउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहुनभएका सांसद बस्नेतले मेलम्ची खानेपानी आयोजना, विद्युत प्राधिकरणले पाल नहटाउँदा सडक निर्माण तथा विस्तारमा समस्या उत्पन्न भएको बताउनुभयो । भक्तपुरलाई सुरक्षित तथा व्यवस्थित गर्नु अहिलेको अपरिहार्य भएको बताउँदै उहाँले अरनीको राजमार्गलाई ‘उज्यालो राजमार्ग’ बनाउन नगरपालिकाले काम शुरु गरिसकेकोमा विशेष धन्यवाद समेत व्यक्त गर्नुभयो ।

पेप्सीकोला सल्लाघारी सडकमा सिमाङ्कनको सामान्य समस्याका कारण कामले केही ठाउँमा गति लिन नसकेको बताउँदै उहाँले समस्यालाई आपसी छलफलका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिँदै सडक निर्माण गर्दा पार्किङ तथा फुटफाटलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताउनुभयो ।

अरनीको राजमार्ग तथा पेप्सीकोला सल्लाघारी सडकलाई नमुना सडक बनाउनुपर्ने बताउँदै अरनीको राजमार्गमा ट्राफिक आइलाइन बनाउने काम शुरु भइसकेको साथै वातावरण विभागले गार्डेन बनाउने काम अघि बढाएको समेत जानकारी गराउनुभयो ।