Banner News

झारपातलाई बेलाबेलामा गोडेर फ्याँकिरहनु पर्छ : अध्यक्ष प्रचण्ड



काठमाडौँ, १७ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकपटक गोडेर फ्याँकेको झार फेरि उम्रिन सक्छ र अन्नबालीलाई असर गर्न सक्ने भएकाले झारपातलाई बेलाबेलामा गोडेर फ्याँकिरहनु पर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले देशमा सामन्ती व्यवस्था फ्याँकेर गणतन्त्र ल्याउन आफुले ठुलो जोखिम मोलेको उहाँले बताउनुभयो । तराई, पहाड र हिमालबीच एकता कायम राख्न धेरै काम गरेको बताउनुभएको छ ।

आफुले शान्ति व्यवस्था कायम राख्न जे पनि गर्न सक्ने आशय दिँदै भन्नुभयो, “एकपटक गोडमेल गरेर अब त यो झार गइसक्यो केही हुँदैन भन्ने ठान्यौं भने गलत हुन्छ, एकपटक गोडेर फ्याँकेको झार फेरि उम्रिन सक्छ र अन्नबालीलाई असर गर्न सक्छ । यसकारणले झारपातलाई बेलाबेलामा गोडेर फ्याँकिरहनु पर्छ ।”

अमेरिकामा आफुमाथि देखिएको आक्रमकताबारे बोल्दै उहाँले प्रतिक्रियावादले बेलाबेलामा टाउको उठाउने गरे पनि संघर्ष गरेर प्राप्त गरेको व्यवस्थालाई उल्ट्याउन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो “तराई, मधेश, पहाड र हिमाललाई एकताबद्ध गर्न मैले धेरै काम गरेको छु, “के शान्ति प्रक्रियाको शुरुवात गर्नु गलत थियो ? के देशमा सामन्ती व्यवस्था फ्याँकेर गणतन्त्र ल्याउनु गलत थियो ?”

अमेरिकामा आफुमाथि ‘नो इन्भेस्टिगेसन सर्कुलर’ जारी नगरेको भए जे पनि हुनसक्ने भएको बताउँदै बोल्दै उहाँले भन्नुभयो “शान्तिसम्झौता र यो संविधानको नेतृत्वकर्ताहरूमाथि प्रहार गर्दा यो व्यवस्था उल्टिन सक्छ कि भन्ने तिनीहरूलाई थाहा छ ।”