काठमाडौँ, १८ चैत । शेयर बजारमा सुधार आउदै आज छ अङ्कको वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.४३ विन्दुले बढेर एक हजार १४९.९९ विन्दुमा पुगेको छ ।
स्टकका अनुसार कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७१ कम्पनीका १२ लाख ६५ हजार ६६२ कित्ता शेयर रु ३५ करोड २८ लाख १० हजार ७५० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर घटेको छ । त्यसमा उत्पादन ४.६६ र अन्य ५.९२ विन्दुले घटेका छन् ।
यस्तै बैंकिङ १०.१५, होटल ३३.६७, विकास बैंक ६.३७, जलविद्युत् २.८७, वित्त २.०७, निर्जीवन बीमा २९.७, लघुवित्त २.२८ र जीवन बीमा २.२ विन्दुले बढेका छन् । कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड २० लाख ७८ हजार ८४ मूल्य बराबरको शेयर खरीद बिक्री भएको छ ।
स्टकका अनुसार महालक्षमी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.४५ प्रतिशतले कमाउँदा अरुण कावेली हाइड्रो पावर ४.९५, हिमालयन पावर पार्टर ४.९२, गुडविल फाइनान्स ४.३५, सनराइज बैंकको शेयरधनीले ३.६९ प्रतिशतले कमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्