भक्तपुर, २१ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नीजि, सहकारी तथा सरकारी क्षेत्रको समन्वयबाट नै नेपालको आर्थिक वृद्धिदरलाई उच्च बनाउन सकिने बताउनुभएको छ ।
सूर्यविनायक नगरपालिकाले आयोजना गरेको ६२औं राष्ट्रिय सहकारी दिवसकोको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बस्नेतले वर्तमान समयमा सहकारी गाउँ गाउँ तथा वस्ती वस्तीको नेतृत्वदायी संस्थाको रुपमा स्थापीत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीको माध्यमबाट रोजगारी सृर्जना, ग्रामिण भेगमा आर्थिक शोषण, सामन्तीवादी सोचको अन्त्य भएको बताउनुभयो ।
मनमोहन अधिकारी प्रधानमन्त्री तथा भरतमोहन अधिकारी अर्थमन्त्री भएको समयमा सहकारीका दुई वटा नीतिका कारण सहकारीमा आमुल परिवर्तन भएको बताउँदै उहाँले सहकारीका कारण मानिसले आन्तनिर्भर बन्न सफल भएको र ग्रामिण इलाकामा साहु आयो भन्दा लुकेर बस्नु पर्ने दिनको अन्त्य भएको बताउनुभयो ।
सांसद बस्नेतले विधि र पद्धतिमा चल्ने राज्यले सहकारी लगायतका संस्थाहरुको स्वामित्व स्थाननीय तहले लिनुपर्ने बताउँदै आर्थिक रुपमा बृद्धिदरलाई उच्च बनाउँदै समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउन सहकारीको भूमीका मुख्य हुने बताउनुभयो । उहाँले सहकारीको माध्यमबाट आर्थिक शोषण तथा उत्पीडनको अन्त्य गर्दै समाजवाद उन्मुख व्यवस्थाको निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
ग्रामिण क्षेत्रमा उद्योगको विकास गर्न नसके आगामी दिनमा परनिर्भरता झनै मौलाएर जाने भन्दै उहाँले आर्थिक शोषण तथा उत्पिडन, भ्रष्टाचार तथा अनियमितताको अन्त्य गनु सवै नागरिक, जनप्रतिनिधि, विभिन्न संघसंस्था एक ढिक्का भई लाग्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार तथा अनियमितता विरुद्ध अभियान सञ्चालन गर्ने तयारी समेत भइरहको जानकारी गराउनुभयो ।
उहाँले पारदर्शिता, जवाफदेहिता, उत्तरदायीत्व बहन गर्ने सवालमा महत्वपूर्ण भूमिका खेल्ने सरकार भनेको नै स्थानीय सरकार भएको बताउँदै नेपाली किसानहरु आत्मनिर्भर हुने व्यवसायमा विदेशी लगानी स्वीकार नगरिएको जानकारी गराउनुभयो । उहाँले माछा, दुध, कृषि, फूल, अण्डा, कुखुरा पालन लगायतका कुराहरुमा विदेशी लगानी गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको बताउनुभयो । सहकारीले नाफामूलक भन्दा पनि रोजगारी तथा उत्पादनमूलक हुनुपर्ने समेत उहाँको जोड रहेको थियो ।

विदेशी लगानी नेपालमा ल्याउन विभिन्न प्रकारका ऐनलाई संशोधन गरिएको जानकारी गराउँदै उहाँले नेपालको महत्वपूर्ण विकासको क्षेत्रमा ५१ प्रतिशत स्थानीय लगानी तथा ४९ प्रतिशत मात्र विदेशी लगानी गर्न सकिने प्रावधान रहेको जानकारी गराउनुभयो । उहाँले कमाईको १० प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने प्रावधान ल्याइएको र त्यसलाई व्यवहारी रुपमा लागु गरे पछि श्रम शोषणको अन्त्य गर्दै सामाजिक दायित्वको सोचमा विकास गर्दै अघि बढ्ने बताउनुभयो ।
सूर्यविनायक नगरपालिका नीति निर्माण, बजेट कार्यान्वयन लगायतका क्षेत्रमा देशकै अगुवा नगरपालिकाको रुपमा स्थापीत हुन सफल भएको बताउँदै उहाँले सूनपामा नयाँ जोस, जाँगर र उर्जाका साथ तिव्र गतिमा विकास भइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।
भूउपयोग नीतिले जमिन बाँझो राखे तीन लाख सम्म जरिवाना गर्ने बताउँदै उहाँले इजरायलमा १३ प्रतिशतमात्र कृषि उत्पादनमूलक क्षेत्र रहेको र त्यहाँ उत्पादन भएकोले ९५ प्रतिशत जनतालाई धान्ने गरेको तर नेपालमा ८५ प्रतिशत कृषिमा आधारित भएको तर ३० प्रतिशतलाई समेत धान्न नसकेको अवस्था रहेको जानकारी गराउनुभयो ।
समाजलाई सभ्य, सुरक्षित, सफा, उत्कृष्ट बनाउने कार्यमा मानसिक चेतनाको विकास आवश्यक रहेको बताउनुभयो । तिव्र सहरीकरण भइरहेका ठाउँमा बैकल्पिक कृषि प्रणालीको विकास र विस्तार गर्दै जानुपर्नेमा जोड दिंदै उहाँले पर्यटनको विकास गर्न सके आर्थिक उन्नतीको मूख्य आधार हुने बताउनुभयो । उहाँले प्राणी उद्यान केन्द्रको लागि सिंगापुरले विशेष चासो देखाएको, रंगशालाको लागि कतारले चासो देखाएको भक्तपुरमा प्राणी उद्यानको साथ साथै प्याराग्लाईडिङ, धार्मिक, सांस्कृतिक, केबुलकार, बन्जीजम्प लगायतको विकाससँग भक्तपुरलाई पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने र रोजगारीको वातावरण सिर्जना गर्ने उहाँले बताउनुभयो ।
सफा नगरपालिकाको लागि नेपालकै नमुना नगरपालिकाको रुपमा सूर्यविनायकलाई बनाउनुपर्ने र विदेशीको आकर्षणको केन्द्रविन्दुको रुपमा विकास गर्नुपर्ने भन्दै अव भक्तपुरका प्रत्येक वडामा ८ र ११ मिटरका सडकमा कुनै चिन्त लिनु नपर्ने, चार पाँच वर्षमा सवै ठाउँमा व्यवस्था भईसक्ने दावि गर्नुभयो । उहाँले सडक, खानेपानी, ढलको समस्याको अन्त्य हुने समेत बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुनादेवी वस्नेतले सूर्यविनायक नगरपालिकामा जम्मा १२६ वटा सहकारी रहेको जानकारी गराउँदै सहकारीको विकास र विस्तारको लागि नगरपालिकाले गर्नुपर्ने कुनै पनि कार्यहरुमा कन्जुस्याई नगर्ने प्रतिवद्धा व्यक्त गर्नुभयो ।
त्यस्तै सहकारी बैंकका सदस्य सरिता भट्टराईले पुँजी निर्माण गर्ने माध्यमको रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले उत्पादन भएको वस्तु वा पदार्थलाई तीनै तहको सरकारले बजारको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड समेत दिनुभयो ।
कार्यक्रमका अध्यक्ष सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले सहकारीलाई उत्पादनसँग जोड्नपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान समयमा आर्थिक वृद्धिदरलाई उच्च बनाउँदै रोजागरीमूलक वातावरणको सिर्जना गर्न सहकारीको भूमिका मूख्य हुने बताउँदै उहाँले सहकारीलाई व्यवस्थित बनाउन नगरपालिकाको तर्फबाट रु २० लाख बजेटको व्यवस्था गरेको समेत जानकारी गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्