राजनीति

वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण सरकारी अस्पतालमा पनि हुने



काठमाडौँ, २३ चैत । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालले पनि गर्न पाउने भएका छन् ।

स्वास्थ्य परीक्षणका आवश्यक मापदण्ड पूरा गरेका सरकारी अस्पतालले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने मापदण्ड पूरा भएका स्वास्थ्य संस्थालाई सूचीकरण हुन आह्वान समेत गरिसकेको छ ।

मलेसिया रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने संस्था ३७ वटा रहँदै आएकोमा अब मलेसियाले पठाएको स्वास्थ्य परीक्षण मापदण्ड पूरा भएका जुनसुकै पनि स्वास्थ्य संस्था स्वास्थ्य परीक्षणमा आबद्ध हुनसक्ने भएको छन् ।

यसअघि मलेसिया रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने ३७ वटा स्वास्थ्य संस्थासहित अन्य विभिन्न मुलुकमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने २ सय २६ वटा स्वास्थ्य संस्थालाई मात्रै सरकारले स्वास्थ्य परीक्षण अधिकार दिएको थियो ।