Banner News

पहिचान, अधिकार र भ्रष्टाचारको विरुद्धमा सशक्त आन्दोलन : संयोजक भट्टराई



बुटवल, २३ चैत । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पहिचान, अधकार र भ्रष्टाचारको विरुद्धमा सशक्त आन्दोलन उठ्ने दावी गर्नुभएको छ ।

शनिबार बुटवलमा मगर राष्ट्रिय परिषदको संघीय भेलाको उद्घाटन गर्दै संयोजक भट्टराईले आदिवासी जनजाति, दलित, महिलाका अधिकार र भ्रष्टाचारको विरुद्ध फेरि एकपटक सशक्त आन्दोलन उठ्ने भन्दै उहाँले भन्नुभयो, ‘हामी विप्लवजीहरु जस्तो बन्दुकै उठाउने, देश अस्तव्यस्त गराउने गरीह होइन । तर पहिचान, अधिकार र भ्रष्टाचारको मद्दालाई गम्भीर रुपमा लिएका छौं, वाइडबडी भ्रष्टाचार, बुढीगण्डकी भ्रष्टाचार, अन्य मन्त्रालयका अधिकार प्रधानमन्त्री कार्यालयमा केन्द्रीत गर्ने, सेना परिचालन सुरक्षा परिषदको वैठक विनै गर्ने, ठूला परियोजना सिधै प्रधानमन्त्री कार्यालयमार्फत गर्ने जस्ता कुराहरुले हामीलाई गम्भीर बनाएको छ ।’

प्रधानमन्त्री ओलीसंगै कांग्रेसका केही नेताहरुले आफूसँग भएको भेटमा संघीयता नमानेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओली र कांग्रेसका केही नेताहरुले हामीले त संघीयता मानेकै थिएनौं, तपाईले के भिराइदिनु भो भन्नुहुन्छ ।’

उहाँले तत्कालीन कांग्रेस र एमालेसँगै माओवादीले पनि मगर, थारु र गुरुङहरुको पहिचान मेटाउने गरी प्रदेशहरुको सिमांकनमा सहमति जनाएपनि आफूलाई माओवादीप्रति वितृष्णा जागेको बताउनुभयो ।

संयोजक भट्टराईले पहिचानसहितका प्रदेशहरु स्थापना र संविधान संशोधन लगायतका मुद्दामा नेकपा, कांग्रेस र राप्रपा वाहेकका शक्तिसँग ध्रुविकरण गर्ने तयारीमा नयाँ शक्ति लागेको बताउनुभयो ।