भक्तपुर, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री महेश बस्नेतले यो वा त्यो बहानामा विकास निर्माणका काम नरोक्न सम्बन्धीत ठेकेदार कम्पनी तथा निकायलाई निर्देशन दिनुभएको छ ।
आज भक्तपुरमा तिव्र रुपमा निर्माणको प्रक्रियामा अघि बढेको हनुमन्ते नदीको करिडोरको निरिक्षण तथा स्थानीयवासी सँगको छलफलका क्रममा सांसद बस्नेतले उक्त निर्देशन दिनुभएको हो ।
उहाँले वर्षाको समयमा हुने भक्तपुरको डुवानलाई स्थायी रुपमा समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै स्थानीयवासीको समस्यालाई समाधान गर्दै विकासका कामहरु निरन्तर रुपमा अघि बढाउनु पर्ने बताउनुभयो । उहाँले आगामी वर्षालाई ध्यान दिँदै निर्माणाधिन करिडोरलाई वर्षाको समयमा आउने बाढीलाई विशेष ध्यान दिई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सांसद बस्नेतले विकास निर्माणका कार्य ढिला गरेमा पूनः डुवानको समस्या आउन सक्ने भन्दै उक्त कुरामा ठेकेदार तथा सम्बन्धीत निकायलाई सचेत गराउनुभयो । उहाँले मेलम्ची, पुल निर्माणमा प्रयोग भएका फर्मा, करिडोर निर्माण गर्दा नदीभित्र रहेको माटो लगायतका समस्यालाई तत्काल समाधान गर्दै काम अघि बढाउन सम्बन्धीत ठेकेदार तथा निकायलाई निर्देशन दिनुभएको हो ।
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले राधेराधेमा निर्माणाधिन पुलमा प्रयोग भएको फर्मालाई हटाउने, वर्षाको समय अघि नदीको बिचमा फर्मा लगाउने काम नगर्न, फर्माका कारण थुप्रिएको माटो तथा फोहोरलाई तत्काल हटाउन निर्देशन दिनुभयो ।
पुल निर्माण कम्पनीले आगामी बैसाख १५ सम्ममा पुलमा प्रयोग गरिएका फर्मा नदीबाट हटाइसक्ने प्रतिवद्धता व्यक्त गरेको छ भने बाँकी रहेको कामलाई नदीको वारीपारी काम निरन्तर अघि बढाइरहने जनाएको छ ।
वर्षाको समय आउन लागेकाले करिडोरका आसपासमा निर्माण गरिएको पर्खाल भन्दा बाहिर पट्टी गहिरो भई समस्या उत्पन्न हुन सक्ने स्थानीयवासीको समस्यालाई समाधान गर्न खोलाबाट निस्कने माटोलाई उक्त गहिरो भएको ठाउँमा लगाई डुवान हुनबाट मुक्त गराउन समेत सांसद बस्नेतले निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।
उहाँले करिडोर निर्माण सँगसँगै ढलका कामहरुलाई समेत तिव्र गतिका साथ काम गर्न आग्रह गर्नुभएको छ । उहाँले करिडोर निर्माण गर्ने सवालमा केही ठाउँमा घाट समेत रहेको जानकारी गराउँदै उक्त स्थानमा सिढि समेत बनाउनुपर्ने बताउनुभयो ।
सांसद बस्नेतले करिडोर निर्माणका सवालमा जग्गा पर्नेहरुको ल्याण्ड पुलिङको माध्यमबाट समस्या समाधान गरेको र घर पर्नेहरुको सवमालमा सम्बन्धी वडाबाट सिफारिस ल्याई प्रकृया अघि बढाई क्षतीपूर्तिको व्यवस्था हुने जानकारी गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्